रायन सियन डभी नाम गरेका ४३ वर्षीय अफ्रिकी नागरिक चार दिनअगाडि सगरमाथा आरोहणकाक्रममा क्याम्प १ मा पक्राउ परेका थिए ।
नेपाल पर्यटन बोर्डका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठकाअनुसार उनी सगरमाथा आरोहण गर्ने तयारीमा थिए । बिनाइजाजत उनी ७ हजार ३०० मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प १ सम्म पुगेर एकान्त ठाउँमा टेन्ट गाडेर लुकेर बसेका थिए ।
श्रेष्ठले मंगलबार इमेजखबरसँग टेलिफोनमा भने–‘शंका लागेर सोधपुछ गर्नेक्रममा भागेपछि पक्राउ गरेर कागजात हेर्दा ट्रेकिङ इजाजतपत्र (टिम्स कार्ड)मात्रै भेटियो । सगरमाथा आरोहणको इजाजत नभेटेपछि हामीले पार्सपोर्ट तथा अरु कागजात जफत गरेर पर्यटन विभाग जान अनुरोध गर्यौं ।’

नेपालमा सगरमाथा आरोहणका लागि छुट्टै अनुमति लिनुपर्छ । पर्यटन बोर्डले विदेशी पर्यटकलाई सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति करिब ११ लाख रुपैयाँ लिने गर्दछ । त्यस्तै, कम्तीमा एकजना नेपाली पथप्रदर्शक र भरिया साथै लैजानुपर्ने हुन्छ ।
तर, रायनले ट्रेकिङ अनुमतिमात्र लिएर सगरमाथातिर लागेका थिए र उनी एक्लै थिए । ट्रेकिङ अनुमतिपत्रबहाकलाई सगरमाथाको आधार शिविरसम्ममात्रै जाने अनुमति हुन्छ ।
रायन सियन डभीले भने आफ्नो ‘हिमाल आरोहणको कुनै अनुभव नभएकाले गल्ती भएको’ भन्दै माफी मागेका छन् ।
‘यो घटनाले मलाई एकदमै दुःखी बनाएको छ । आधार शिविर पुग्दा मसँग इजाजतका लागि पर्याप्त पैसा थिएन, त्यसैले मैले यस्तो गल्ती गरें । म सबैसँग माफी चाहन्छु’–उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

पर्यटन विभागले मंगलबारसम्म उनी सम्पर्कमा नआएको जनाएको छ । विभागकाअनुसार उनलाई के कारबाही गर्ने भन्ने कुरा मन्त्रिपरिषदले नै निर्णय गर्नुपर्ने हुन्छ ।
प्रचलित नियमअनुसार त्यस्तो व्यक्तिलाई करिब २३ लाख रुपैयाँ जरिवाना र आजीवन हिमाल आरोहणमा प्रतिबन्ध लगाउन सकिनेछ भने नेपाल प्रवेशमासमेत प्रतिबन्ध लगाउन सकिने विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्