Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले गर्‍यो हस्ताक्षर


0
Shares

बिहान भएको कार्यक्रममा परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा परराष्ट्र मन्त्री प्रकाशशरण महतले समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको उल्लेख गरे ।

परराष्ट्र मन्त्रालयमा गरिएको कार्यक्रममा मन्त्री महतले सम्झौता नेपाल र चीनबीच रोड र रेल वे कनेन्टीभिटीका लागि महत्वपूर्ण माध्यम बन्ने उल्लेख गरे ।

समझदारीपछि चीनसँग कनेक्टिभिटी, लगानी, क्षमता अभिवृद्धि, मुद्रा उपयोग, व्यापार तथा पारबहनलगायतका विषयमा सहकार्यको बाटो खुल्ने अपेक्षा नेपालको छ ।

नेपालले चीनसँग ओबिओआर अवधारणामा सहभागी हुने सैद्धान्तिक समझदारी पत्रमा सन् २०१४ डिसेम्बरमा हस्ताक्षर गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा ओबिओआरमा हस्ताक्षर गर्ने सहमति भएको थियो ।

ओबिओआर मञ्चको बेइजिङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वमा तीन मन्त्रीसहितको प्रतिनिधिमण्डल शुक्रबार चीन जाँदै छ । प्रतिनिधिमण्डलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहभागी हुने कार्यक्रम छ ।

सम्मेलन आइतबार र सोमबार सञ्चालन हुने छ । सन् २०१३ मा चीनले ओबर परियोजना अघि बढाएको हो । चीनले पश्चिमी भागबाट मध्य एशिया हुँदै युरोप, मध्यपूर्व, दक्षिण एशियासम्मै रेलमार्गले जोड्ने परिकल्पना यो परियोजनामा गरिएको छ ।

चीनको यस परियोजनामा ६७ मुलुकले साथ दिइसकेका छन् भने अरु ४० भन्दा बढीले साथ दिने बचन दिएका छन् ।