Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मतदानमा सक्रियतापूर्वक सहभागी हुन प्रधानमन्त्री दाहालको अपिल


0
Shares

                                                                                 फाइल फोटो
प्रधानमन्त्री दाहालले शनिबार अपिल जारी गर्दै नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिकरुपमा देख्न र अनुभव गर्नसक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ गते हुन गइरहेको बताएका छन् ।

प्रदेश नम्बर–३, ४ र ६ अन्तर्गत् ३४ जिल्लाका २८३ स्थानीय तहमा १३ हजार पाँच सय ५६ जनप्रतिनिधि छनोट गर्ने कार्यको अन्तिम अवस्थामा रहेको तथा पहिलोचोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहीत गरेको अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ–‘लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यसअर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरकारुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।’

धेरैले लगभग २० वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन लागेको भन्ने गरे पनि यस्तो प्रकारको चुनाव नेपालमा पहिलोचोटि हुन लागेको प्रधानमन्त्रीको भनाइ छ ।

अपिलमा भनिएको छ–‘एकातिर यो चुनाव नेपालको शान्ति–प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीकारुपमा रहेको छ भने अर्कोतिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्य सत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोसेढुंगाकारुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबारकेन्द्रित अधिकार र स्रोत–साधनलाई जनताको घर–आँगनसम्म पुर्‍याउनका लागि ढोका खुला हुनेछ ।’

चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई महिला चुनिने व्यवस्था तथा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमध्ये एक महिला उठाउनैपर्ने व्यवस्थाबाट गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनी अनिवार्यरुपमा चुनिएर आउने अपिलमा उल्लेख छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नातर्फबाट सबै उपाय अपनाएको तथा सरकारले पनि आफ्नातर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको प्रधानमन्त्रीले स्पस्ट पारेका छन् ।

शान्ति–सुरक्षाको दृष्टिले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको उनले जानकारी दिएका छन् ।

सबै मतदाता दिदीबहिनी तथा दाजुभाइलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोचबिना निर्धक्क भइ आफूले चाहेका उम्मेदवारलाई मत खसाल्न प्रधानमन्त्रीले अनुरोध गरेका छन् ।

निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न तथा राजनीतिक दल, सन्चारकर्मीलगायत सम्पूर्णमा आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि प्रधानमन्त्रीले अपिल गरेका छन् ।

अपिलमा भनिएको छ–‘भोलि केवल मतदानको दिनमात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो ।’

संविधानको स्वीकार्यता बढाइ मधेसी, थारु, आदिवासी जनजातिलगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नम्बर–१, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरणमा आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय गरिएकाले ती प्रदेशका जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि प्रधानमन्त्री दाहालले विशेष अपिल गरेका छन् ।

उनले सरकार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको दोहर्‍याउँदै नेपाली जनताको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रतिे आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदाझैं सहयोग र सद्भावको अपेक्षा गरेका छन् । रासस

Skip This