Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति भण्डारी श्रीलंकामा


0
Shares

राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकाका न्याय तथा बुद्धशासनमन्त्री डा. विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा. हर्ष डेसिल्भा तथा श्रीलंकाका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिले स्वागत गरे ।

त्यसअघि, विमानबाट ओर्लिएलगत्तै पञ्चकन्याबाट फूलको गुच्छा प्रदान गरी राष्ट्रपति भण्डारीलाई स्वागत गरिएको थियो ।

विमानस्थलमा श्रीलंकाका लागि नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलले पनि उनलाई स्वागत गरे ।

सो अवसरमा राष्ट्रपति भण्डारीले विमानस्थलमा राखिएको सुवर्ण पुस्तिकामा हस्ताक्षर गरिन् ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्यता दिइएको स्थान हिलटोन गएकी छन् ।

श्रीलंकाकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी शनिबार यहाँ आइपुगेकी हुन् ।

बुद्धजयन्तीका अवसरमा श्रीलंकाले मनाउन लागेको संयुक्त राष्ट्रसंघीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिकारुपमा सहभागी हुनेछिन् ।

यही वैशाख २९ गते श्रीलंकाको राजधानी कोलम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलंकाकाको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ ।

सन् २००० देखि राष्ट्रसंघले बुद्धजयन्तीलाई राष्ट्रसंघीय दिवसकारुपमा मनाउन सुरु गरेको हो ।

सो दिनलाई थाइल्यान्ड, श्रीलंका, म्यानमालगायतले वैशाख दिवसकारुपमा मनाउँदै आएका छन् । श्रीलंकाले तीन दिनसम्म सोसम्बन्धी विशेष सम्मेलन गरिरहेको छ ।

श्रीलंकाको औपचारिक भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ ।

भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलंकास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नेछिन् ।

राष्ट्रपतिको भ्रमणमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा. मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अञ्जनकुमार मिश्र, उच्चपदस्थ अधिकारी, सन्चारकर्मीलगायतको सहभागिता छ ।