महाकाली नदीमा बेपत्ता तीन किशोर खोज्न हात्ती परिचालन

सोमबार बिहानदेखि बेपत्ता युवाको खोजीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट तीन हात्ती ल्याएर परिचालन गरिएको छ ।
“नदीको दुई वटै साइडमा खोजी कार्यमा हात्तीसमेत प्रयोग गरिएको छ”, इप्रका दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक विरादत्त पन्तले भने, “अझै कुनै पत्तो लागेको छैन ।”
शनिबार दिउँसो महाकालीमा पानीको बहाव बढेसँगै नदी तर्ने क्रममा भीमदत्तनगरपालिका–१४ वनकट्टीका १६/१६ वर्षीय कपिल खाती र दीपेश कुँवर तथा १५ वर्षीय राहुल उपाध्याय नदीमा बेपत्ता भएका थिए ।
सोही दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी तीव्र पारे पनि उनीहरुको अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ ।
“धमिलोे पानी त्यहीमाथि बहाव बढ्दा खोजी कार्य दुई दिनदेखि प्रभावित बन्यो”, प्रहरी निरीक्षक पन्तले भने, “प्रविधिहरु सुरक्षा निकायसित नभएकाले खोजी कार्यमा समस्या हुँदैन् ।”
बोटिङ र लाइफ ज्याकेटको सहारामा प्रहरीले खोजी जारी राखे पनि धमिलो पानी भएकाले थप समस्या आइरहेको उनले बताए ।
किशोरहरु बेपत्ता भएको दोधारा चाँदनी झोलुङ्गे पुलबाट करिब ५०० मि दक्षिणबाट खोजी भारतीय सीमासम्म जारी रहेको प्रहरीले जनाएको छ । रासस