संस्कृतिविद् तथा सन्चारकर्मी घिमिरेको निधन « Image Khabar


संस्कृतिविद् तथा सन्चारकर्मी घिमिरेको निधन


Imagekhabar
१ जेष्ठ २०७४, सोमबार १४:५६

शुक्रबार सिन्धुपाञ्चोकको खाडीचौरमा बस दुर्घटनामा परी करङमा चोट लागेका घिमिरेको उपचारकाक्रममा महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान निधन भएको राष्ट्रिय धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले जानकारी गराए ।

काठमाडौंबाट स्थानीय तहको निर्वाचनमा सपरिवार मतदान गर्न दोलखा जानेक्रममा भएको सो दुर्घटनमा उनका बुबा मुक्तिनाथ र आमा रत्नकुमारीको घटनास्थलमै निधन भएको थियो । उनका श्रीमती र बहिनी भने घाइते छन् ।

घाइते भएपछि उनलाई उपचारकाक्रममा काठमाडौं ल्याइएको थियो । दोलखाको गौरीशंकर गाउँपालिकाको लामीडाँडा घर भएका घिमिरे भक्तपुरको कौशलटारमा बस्दथे ।

त्रिविका उपप्राध्यापक घिमिरे ‘रेडियो कान्तिपुर एफएम’मा धार्मिक कार्यक्रमका सन्चालकसमेत रहेका थिए । उनी दोलखाको गौरीशंकर गाउँपालिकाका लामीडाँडा, बाब्रेगाउँलाई संस्कृतग्राम बनाउने अभियानमा रहेका थिए ।

‘शब्द सन्दोह’ कृतिका लेखक घिमिरे ‘पाणिनी व्याकरणको धातुपाठ’सम्बन्धी विषयमा विद्यावारिधि गर्दै थिए ।

नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता ४८ वर्षीय घिमिरेका दुई छोरा र एक छोरी छन् । उनको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्