कैलाली । कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले गएराति कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको कञ्चनपुरका एसपी कुबेर कडायतले जानकारी दिए ।
यसअघि सोही ठाउँबाट प्रहरीले १८ किलो सुन बरामद गरेको थियो । हिजो सुनसहित पक्राउ परेका दाजुभाईमध्ये दाजु लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिरुवा दाजुभाइमाथि सोधपुछ गर्ने क्रममा थप सुन बरामद भएको प्रहरीको भनाइ छ ।
शुक्लाफाँटा नगरपालिका–११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको हो ।
गएराति बरामद गरिएकोसहित २३ किलो ६ सय ग्राम सुन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सुन भारतबाट तस्करी गरी नेपाल भित्रिएको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ घर भइ भारतमा चालकको काम गर्दै आएका लक्ष्मण तिरुवाले सुन ल्याएर भाइ सुरजलाई दिएका थिए । सुरज नेपाल प्रहरीका जवान हुन् ।
उनी जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन् । सुरजले सुन ससुराली घरमा राखेको सूचना पाएपछि प्रहरी टोलीले छापा मारेको थियो ।
प्रतिक्रिया दिनुहोस्