काठमाडौंमा भारी वर्षा, अझै केही दिन जारी रहने « Image Khabar


काठमाडौंमा भारी वर्षा, अझै केही दिन जारी रहने


Imagekhabar
२ जेष्ठ २०७४, मंगलवार १४:५०

फाइल फोटो

बिहान ९ बजेसम्मको मौसमी विवरणअनुसार काठमाडौंमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी धनकुटामा ३७, पोखरामा १४, ताप्लेजुङमा १२ र विराटनगरमा ५ मिलिमिटर वर्षा भएको छ ।

पूर्वी उत्तर प्रदेशमा न्यून चापीय प्रणाली बढेको र पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रवेशका कारण काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिमी पहाडी भेगमा बदलीसँगै वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

उनका अनुसार पूर्वी न्यूनचापीय प्रणालीको प्रभावले खासगरी मध्य र पूर्वी भेगमा बढी असर परेको छ, ती क्षेत्रमा आज अपराह्न र साँझ बदलीसँगै वर्षा हुनेछ । उक्त प्रणालीका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावाको पनि समिश्रणले बदलीसँगै वर्षा गराएको मौसमविद् रिमालले बताए ।
त्यस्तै, पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पश्चिमी भेगबाट प्रवेश गरेका कारण पश्चिमी पहाडी भेगमा दिउँसो बदली र वर्षा हुने जनाइएको छ ।

‘आज देशका मध्य, पूर्वी र पश्चिमी पहाडी भेगमा वर्षा हुने देखिन्छ, ठूलो पानी पर्दैन, धुम्म हुने अस्थायी प्रकृतिको वर्षा गराउनेछ’ – मौसमविद् रिमालले भने ।

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मौसम बदली रहेपनि हवाई उड्डयनमा कुनै असर नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले भिजिविलिटी चार किलोमिटर रहेको छ । मंगलबार (आज) काठमाडौंको न्यूनतम १७ र अधिकतम तापक्रम २६ डिग्रिसेल्सियस रहेकोे छ । रासस

प्रतिक्रिया दिनुहोस्