
तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन् ।
सोमबार राति सम्पन्न मतगणनामा उनले स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सीताराम शर्मा लामिछानेकाअनुसार सुवर्णले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गरेका छन् । नाताले दुबै प्रतिस्पर्धी मामा–भान्जा हुन् ।
एक हजार ७०० मतदाता रहेको लोमान्थाङमा एक हजार २६३ मत खसेको थियो । सो गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकै कोसी पासाङ विजयी भइन् ।
घरपझोङ गाउँपालिकामा नेकपा एमालेका आशबहादुर थकाली विजयी भएका छन् ।
एक हजार ५६८ मतदातामध्ये एक हजार २५९ मत खसेको घरपझोङमा थकालीले ४५४ मत ल्याएर नेपाली कांग्रेसका विजय हिराचनलाई पराजित गरेका हुन् । हिराचनले ४१७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै शर्मिला गुरुङले ७०७ मत ल्याएर विजयी भइन् ।
एक हजार २७७ मतदातामध्ये ९९८ मत खसेको दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट (लोप्छाङ ह्याङ्सी गुरुङ) ७५५ मत ल्याएर विजयी भए ।
उनले नेपाली कांग्रेसका तेञ्जिङ गुरुङलाई पराजित गरेका हुन् । गुरुङले २०३ मत प्राप्त गरे । उपप्रमुखमा भने नेकपा एमालेका ढोका गुरुङ ६०१ मत प्राप्त गरी विजयी भइन् । रासस
प्रतिक्रिया दिनुहोस्