Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


भीमकाय शरीरका रोली नेपालमा


0
Shares

काठमाडौं, फागुन २ । नेपाली खेलकुदमा पहिलोपल्ट आयोजना हुन लागेको ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो क्वालिफायर’का लागि विश्व बडीबिल्डिङका हस्ती रोली विङ्कलार बिहीबार नेपाल आएका छन् ।

उनी बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

रोली विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन् ।

उनको हातको पाखुरामात्र २४, छाती ६० र खुट्टाको पाखुरा ४८ इन्चको छ ।

वर्षमा एक/दुईपल्टमात्र प्रतियोगिताको अवसरमा सार्वजनिकरुपमा देखापर्ने रोली ‘गेस्ट पोजर’कारुपमा आइएफबीबीमा देखापर्न लागेका हुन् ।

१५ राष्ट्रका खेलाडीले अनलाइन दर्ता गरेको प्रतियोगितामा खेल्ने खेलाडीको टुंगो शुक्रबारमात्र लाग्ने आयोजकले जनाएको छ ।

काठमाडौंमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’मा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडीबिल्डिङ’ र ‘ओमन फिजिक’ गरी चारओटा ‘प्रो कार्ड’का लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रो कार्ड पाउने चार खेलाडीले अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’मा भाग लिन पाउनेछन् ।

फागुन ४ गते शनिबार कमलादीस्थित ‘एकेडेमी हल’मा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक आइएफबीबी लिग नेपालले जनाएको छ ।

शुक्रबार खेलाडीको उचाइ र तौल नापिनेछ ।

फाइनल सम्पन्न भएपछि रोलीले आफ्नो भीमकाय शरीर प्रदर्शन गर्ने जनाइएको छ ।