३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


सल्यानमा दुई गाउँपालिकासहित ३७ तहको नतिजा सार्वजनिक, कहाँ–को विजयी ?


0
Shares

दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक गरिएको छ ।

दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित भएका छन् । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी भएका हुन् ।

सो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच समीकरण गरिएको भएपनि माओवादी केन्द्र विजयी भएको हो ।

यसैगरी, दामागाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–२ मा माओवादी केन्द्रका डिल्ली केसी, वडा नम्बर–३ मा माओवादी केन्द्रका सेतीराम रोका, वडा नम्बर–४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, वडा नम्बर–५ मा माओवादी केन्द्रका दुर्गा मल्ला र वडा नम्बर–६ मा रामबहादुर केसी विजयी भएका छन् ।

यसैगरी, ढोरचौर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन् ।

उनले एक हजार ९२५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी भएकी छन् ।

ढोरचौर गाउँपालिका–१ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी भएका छन् ।

वडा नम्बर–२ मा माओवादी केन्द्रकै रुद्रबहादुर बुढाथोकी विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र वडा नम्बर–५ मा नन्दलाल बोहरा विजयी भएका छन् ।

वडा नम्बर–४ मा भने नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथामार्फत् कांग्रेसका दिनेश विएम विजयी भएका छन् ।

यसैगरी, वागचौर नगरपालिका–१ मा नेपाली कांग्रेसका नेत्रबहादुर डाँगी, वडा नम्बर–२ मा नेकपा एमालेका घनश्याम शर्मा विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–३ मा माओवादी केन्द्रका टीकाराम खत्री, १२ मा नेकपा माओवादी केन्द्रका दीपक वली, वडा नम्बर–११ मा मोहन खड्का र वडा नम्बर–१० मा कृष्णबहादुर खड्का विजयी भएका छन् ।

यसैगरी, शारदा नगरपालिका–१ मा नेकपा एमालेका नवराज बुढाथोकी, वडा नम्बर–२ मा टोपबहादुर थापा र वडा नम्बर–३ मा केशवसिंह बुढाथोकी विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–४ मा नेपाली कांग्रेसका सुधन विष्ट, वडा नम्बर–५ मा प्रदीप शाही र वडा नम्बर–६ मा भिखराज बुढाथोकी विजयी भएका छन् ।

यस्तै, वनगाड कुपिन्डे नगरपालिका–१ मा नेकपा एमालेका शान्तकुमार यरी, वडा नम्बर–१२ मा गोविन्द डाँगी विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–२ मा माओवादी केन्द्रका प्रतिमल रोकाय विजयी भएका छन् ।

यस्तै, कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रका बालाराम खड्का र वडा नम्बर–२ मा मानबहादुर राना विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–३ मा नेपाली कांग्रेसका मीनबहादुर सेन विजयी भएका छन् ।

यसैगरी, त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–२ मा नेपाली कांग्रेसका मेघराज खड्का विजयी भएका छन् ।

यसैगरी, छत्रेश्वरी गाउँपालिका–१ मा नेपाली कांग्रेसका नेवबहादुर शाह, वडा नम्बर–२ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी भएका छन् ।

यस्तै, वडा नम्बर–३ मा नेकपा एमालेका राजबहादुर वुढाथोकी विजयी भएका छन् ।

यसैगरी, कालीमाटी गाउँपालिका–७ मा नेपाली कांग्रेसका नैनसिंह राना, वडा नम्बर–६ मा माओवादी केन्द्रका टेकबहादुर थापा पुलामी र वडा नम्बर–५ मा नेकपा एमालेका चन्द्रबहादुर गाह विजयी भएका छन् ।

शारदा नगरपालिकामा मतगणना रोकियो
यसैबीच, शारदा नगरपालिकामा भइरहेको मतगणना केहीबेरअघिदेखि रोकिएको छ ।

मत हराएको विषयमा नेकपा एमालेले मतगणना बहिस्कार गरेपछि मतगणना प्रभावित भएको छ । यस विषयमा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ ।

कुमाख मालिका गाउँपालिकामा मतदान सम्पन्न
कुमाख मालिका गाउँपालिकामा स्थगित भएको मतदान सम्पन्न भएको छ ।

कुमाख गाउँपालिका–७ मा नेपाली कांग्रेसका वडासदस्य उम्मेदवार दलबहादुर राणाको घरको छतबाट खसेर मृत्यु भएपछि स्थगित भएको निर्वाचन मंगलबार सम्पन्न गरिएको हो ।

अहिले मतपेटिका केन्द्रमा ल्याउने तयारी भएको र आजै बेलुकादेखि मतगणना गरिने बताइएको छ । रासस