१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


संसदको चालु अधिवेशन अन्त्य


0
Shares

                                                                                फाइल फोटो
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट चालु अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रलाई बिहीबारको बैठकमा सभामुखले प्रस्तुत् गर्दै अधिवेशनको अन्त्य गराइएको हो ।

मन्त्रिपरिषदको बिहीबारकै बैठकले सोबारे निर्णय गरेको थियो ।

सभामुख ओनसरी घर्तीले सो अधिवेशनमा भए/गरेका कामको फेहरिस्त बैठकमा प्रस्तुत् गरिन् ।

वि.सं २०७३ वैशाख २१ गतेदेखि कुल ३८१ दिनका अवधिमा ११४ दिनमा १३५ पटक बैठक बसेको थियो । यसबीचमा १७ विधेयक पारित भएका छन् ।

अधिवेशनमा दोस्रो संशोधन विधेयक एकपटक फिर्ता भइ पुनः पेस भएको छ । सो अवधिमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित भए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अविश्वास प्रस्ताव पेस भयो ।

त्यस्तै, सत्तापक्ष र प्रतिपक्षको विवादका कारण पटक–पटक सदनको कारबाही अवरोध भयो ।

संसद बैठकको सो अवधिमा प्रधानमन्त्रीले पाँचपटक सार्वजनिक महत्वका विषयमा मन्तव्य दिए ।

सभामुख घर्तीले अघिल्ला अधिवेशनका तुलनामा यो अधिवेशन केही लामो समय चले पनि संविधानको कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण साबित भएको बताइन् ।

उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकामा सरकार र जनतामा धन्यवाद दिँदै संविधानले तोकेकै समयमा प्रदेश र संघको निर्वाचन पनि सम्पन्न गर्न सम्बन्धित सबैमा आग्रह गरिन् ।

सभामुख घर्तीले संसदको चालु अधिवेशनमा विभिन्न सांसद कारणवश विभिन्न मितिमा अनुपस्थित भएको सूचना प्रस्तुत् गरेकामा बैठकले स्वीकृति दिएको छ । रासस