Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


भीमकाय शरीरका रोली बिहीबार नेपाल आउँदै


0
Shares

काठमाडौं, फागुन १ । नेपाली खेलकुदमा पहिलोपल्ट आयोजना हुन लागेको ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’का लागि विश्व बडीबिल्डिङका हस्ती रोली विङ्कलार बिहीबार नेपाल आउने भएका छन् ।

बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक आइएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङले रोली इत्तिहाद एअरलाइन्सबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न ४ बजेर १० मिनेटमा अवतरण गर्ने जानकारी दिए ।

रोली विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन् । उनको हातको पाखुरामात्र २४ इन्ची, छाती ६० र खुट्टाको पाखुरा ४८ इन्चीको छ ।

सोसल मिडिया इन्स्टाग्राममा १२ लाख मानिसले उनलाई पछ्याउँछन् ।

रोली यो वर्ष पहिलोपल्ट नेपालमा देखापर्न लागेका हुन् । उनी वर्षमा एक÷दुईपल्टमात्र प्रतियोगिताको अवसरमा सार्वजनिकरुपमा देखापर्छन् ।

नेपालमा उनी आइएफबीबी प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’मा ‘गेस्ट पोजर’कोरुपमा देखापर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागिता जनाउन विश्वका १५ राष्ट्रका खेलाडीले अनलाइन दर्ता गरेको तर कति राष्ट्रका खेलाडी आउने भन्ने टुंगो फागुन ३ गते लाग्ने जानकारी दिइयो ।

नेपालमा आयोजना हुन लागेको ‘प्रो क्वालिफायर’मा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडीबिल्डिङ’ र ‘ओमन फिजिक’ गरी चारओटा प्रो कार्डका लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रो कार्ड पाउने ४ खेलाडीले अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’मा भाग लिन पाउनेछन् ।

प्रतियोगितामा प्रायोजककारुपमा हिमालयस स्प्रिङ वाटर प्राइभेट लिमिटेडको ‘हिमालयस अन टप’, नर्भिक अस्पताल, बुद्ध एअरलाइन्स, टोयटा कम्पनी रहेका छन् ।

‘भिजिट नेपाल २०२०’ को नारा ‘लाइफटाइम एक्सपिरियन्स’लाई प्रतिविम्बित गर्न यो प्रतियोगिता तथा रोली विङ्कलारको उपस्थितिले महत्वपूर्ण योगदान गर्ने आयोजक आइएफबीबी लिग नेपालले विश्वास लिएको छ ।

पत्रकार सम्मेलनमा भिजिट नेपाल–२०२० का संयोजक सुरज वैधप्रति सो संस्थाले विशेष आभार व्यक्त गर्‍यो ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रतियोगिताको सफलताका लागि आयोजक संस्थालाई शुभकामना व्यक्त गरेका थिए ।

उनले यो प्रतियोगितामार्फत् अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बदल्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

फागुन ४ गते कमलादीस्थित ‘एकेडेमी हल’मा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइएफबीबी लिग नेपालले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीबीच फागुन २ गते सेमिनार हुने र ३ गते खेलाडीको उचाइ र तौल नापिने पनि जानकारी दिइयो ।

फागुन ४ गते नै बिहान ८ बजेदेखि प्रिजजिङ सुरु हुनेछ भने दिउँसो २ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

फाइनल सम्पन्न भएपछि रोलीले आफ्नो भीमकाय शरीर प्रदर्शन गर्ने जनाइएको छ ।