Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


नेपालले इरानलाई ३–० ले हरायो


0
Shares

काठमाडौं, फागुन १ । नेपाल भारतमा जारी ‘हिरो महिला गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलनजिक पुगेको छ ।

भुवनेश्वरमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बुधबार बलियो प्रतिद्वन्द्वी इरानमाथि हावी हुँदै नेपाल फाइनलनजिक पुगेको हो ।

नेपालले सनसनीपूर्ण प्रदर्शन गर्नेक्रममा इरानमाथि ३–० को जित निकाल्यो ।

नेपालले ४१औं मिनेटमा अनिता बस्नेतको गोलबाट प्रारम्भिक अग्रता लिएकामा ५९औं मिनेटमा साबित्रा भण्डारीको गोलबाट अग्रतालाई दोब्बर पार्न सफल भयो ।

त्यस्तै, साबित्राले ८९औं मिनेटमा अर्को गोल थप्दै नेपाललाई ऐतिहासिक जित दिलाइन् ।

फिफा वरीयतामा १०६औं स्थानमा रहेको नेपालले ६०औं स्थानमा रहेको इरानलाई हराएर सनसनी मच्चाएको हो ।

यसअघि, नेपाली महिला राष्ट्रिय टोलीले भारतलाई पहिलोपटक २–१ ले हराएको थियो । नेपाल पहिलो खेलमा भने म्यानमारसित ३–० ले पराजित भएको थियो ।

लगातार दुई खेल जिते पनि नेपालले फाइनलमा पुग्न भने म्यानमार र भारतबीचको भिडन्त हेर्नुपर्नेछ । नेपाल र म्यानमारको ६–६ अंक रहेकामा भारतको ३ अंक छ ।

इरान अंकविहीन हुँदै बाहिरिएको छ ।

बुधबारै दोस्रो खेलमा म्यानमारले भारतविरुद्ध जित वा बराबरी खेलेमा नेपाल र म्यानमारले प्रतियोगिताको फाइनल खेल्नेछन् ।