कैलाली, फागुन १ । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा धनगढी स्टार्सले लगातार तेस्रो हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा घरेलु टोली धनगढी विराटनगर किंग्ससित २१ रनले पराजित भयो ।
१०४ रनको सामान्य चुनौती पछ्याएको धनगढी १८ ओभर ५ बलमा ८२ रनमै ‘अलआउट’ भएको हो ।
सन्दीप रजाइलीले ३४ तथा राजु रिजालले १५ रन बनाएबाहेक अरु कुनैपनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
विराटनगरका कप्तान करण केसी र भारतीय खेलाडी अविनाश यादवले समान ४/४ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगरले २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो ।
अलराउन्डर अविनाशले सर्वाधिक २७ रन बनाएको इनिङ्समा करण केसीले २१ रनको योगदान गरे ।
धनगढीका कप्तान सोमपाल कामी र विपिन खत्रीले समान ३/३ विकेट लिए ।
हारपछि धनगढीको प्लेअफको सम्भावना कठिन बनेको छ ।
अंकतालिका
अंकतालिकामा शतप्रतिशत नतिजासहित रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स समान ४ अंकसहित शीर्ष दुईमा रहेका छन् भने सीवाइसी अत्तरिया र विराटनगर किंग्सको समान २ अंक छ ।
धनगढी र महेन्द्रनगर युनाइटेडले भने अंकको खाता खोल्न सकेका छैनन् ।








प्रतिक्रिया दिनुहोस्