वडासदस्यमा ‘जितेर’ शपथ खाइसकेपछि ‘पराजित’ भन्दै प्रमाणपत्र फिर्ता लिइयो

नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर–२ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मतपरिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गरेका थिए ।
मतपरिणाम घोषणा गरेको दुई दिनपछि नेपालसहित सबै विजयी उम्मेवारलाई शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरिएको थियो ।
साँझपख एमाले कार्यकर्ताहरुले विरोध गर्दै कार्यालयमा ताला लगाएपछि पुरीले पुनः मतपरिणाम हेर्दै एमालेकी पुष्पा आलेको बढी मत भएको भन्दै आलेलाई विजयी घोषणा गरेका हुन् ।
मतपरिणाम घोषणा गर्दा नेपालको १ हजार ४९ मत भनिएपनि प्राविधिक त्रुटि हुन गएको भन्दै मतपरिणाम हेर्दा नेपालको १ हजार ३९ मतमात्र देखिएकाले १ हजार ४९ मतसहित आलेलाई विजयी घोषणा गरी प्रमाणपत्र फिर्ता लिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।