कैलाली, फागुन १ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराउँदै काठमाडौंले लगातार दोस्रो जित हासिल गरेको हो ।
काठमाडौंले दिएको १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १२७ रनमात्र बनाउन सक्यो ।
महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले अविजित २८ रन जोडे । यस्तै, कप्तान शरद भेषावकरले २३ रन जोड्दा आरिफ शेखले १८ रन बनाए ।
काठमाडौंका राशिद खानले ३ तथा अंकित दबासले २ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
काठमाडौंका लागि अंकित दुबासले अविजित रहँदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । दबासले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, योगेन्द्रसिंह कार्की २२ रनमा अविजित रहे ।
बलिङतर्फ महेन्द्रनगरका अमरसिंह रौटेलाले २ विकेट लिँदा मोहम्मद नाभिद, सागर ढकाल र अविनाश बोहराले १/१ विकेट झारे ।
जितसँगै काठमाडौंले २ खेलबाट ४ अंक जोडेको छ । लगातार दुई खेल हारेको महेन्द्रनगरले अंकको खाता खोल्न सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्