Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


बैंकको चर्को ब्याजदरविरुद्ध व्यवसायी दिनहुँ सडकमाः बित्तीय क्षेत्रमा तरङ्ग (भिडियो)


0
Shares

दीपक घिमिरे/ईमेज:

भैरहवा । बैंक तथा वित्तीय संस्थाले बढाएको अत्याधिक ब्याज घटाउन सरकारले पहल नगरेपछि व्यवसायीहरु सम्बन्धित बैंकमाथि नै दबाब बढाउन थालेका छन् ।

ब्याजदर घटाउन चरणबद्ध आन्दोलनमा रहेका रुपन्देहीका उद्योगी व्यवसायीले बैंकहरुलाई नै दबाब दिएका हुन् ।

बैँकहरुले एकाएक बढाएको व्याजले देशको बित्तीय क्षेत्र नै तरंगित बनेको छ । यसकै विरोधमा देशव्यापी रुपमा व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् ।

जसमध्ये रुपन्देहीका व्यवसायीले पनि विभिन्न स्वरुपका आन्दोलन र दबाबमूलक काम गर्दै आइरहेका छन् ।

प्रशासन र सरकारसँग गरेको लबिङ परिणाममुखी नभएपछि व्यवसायीहरु बैँकहरुलाई नै सहमत गराउन लागिपरेका छन् ।

उद्योग व्यापार संगठन रुपन्देहीको नेतृत्व टोलीले भैरहवा क्षेत्रका दुई दर्जन बैंकहरुलाई व्याजदर घटाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

यद्यपि उनीहरुले व्याजदर नघट्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिइरहेका छन् । बैँकहरुले एकाएक व्याजदर वृद्धि गरेकोप्रति नेपाल राष्ट्र बैँकले खबरदारी र आवश्यक पहल नगरेकोप्रति उनीहरुको आक्रोश देखिन्छ ।

बैंकहरुले मनपरी ढंगबाट १६ दशमलव ७५ प्रतिशतसम्म ब्याज वृद्धि गरेपछि आफूहरु सबैभन्दा बढी मर्कामा परेको व्यवसायीको गुनासो छ ।

अर्कोतिर व्याजदर वृद्धिको अन्तिम मार उपभोक्तालाई नै पर्ने देखिन्छ  उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बैक तथा बित्तिय सस्थाले मनोमानी ढङगले व्याजदर बृद्धि गरेर बैंकिङ कालोबजारी र बैंकिङ सिण्डिकेट गरेको आरोप लगाए ।

व्यवसायीहरुले बैंकको व्याजदर ९ प्रतिशतमा झार्न राष्ट्र बैँकलाई आग्रह गरेका छन् । बैँकहरुले बढाएको व्याजले बित्तीय क्षेत्र नै तरंगित भएको छ ।

चर्को व्याजदर नघटाए उद्योगी व्यवसायीले ऋण चुक्ता गरी व्यवसायबाट मुक्त हुनुपर्ने बाध्यता आइपरेको गुनासो गरेका छन् ।

मापदण्ड र मर्का नपर्ने गरी बैँकहरुले व्याजदर बढाउनु स्वाभाविक भएपनि आम उपभोक्ता र लगानीकर्ताको ढाडै सेक्ने गरी बढाएको व्याजलाई भने जायज मान्न सकिन्न ।

यसमा सरकारले नियमन गर्ने र बैँकहरुले आफ्नो निर्णयको पुनरावलोकन गरेर मध्यमार्गी बाटो समात्नै पर्छ ।