२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


महिला सशक्तिकरण र लैंगिक समानताको सन्देश बोकेर सगरमाथा चढ्ने पहिलो आरोही कान्छीमाया


13
Shares

शनिबार (हिजो) बिहान ६ बजेर १५ मिनेटमा संसारकै सबैभन्दा अग्लो सगरमाथाको चुचुरोमा पुगेकी कान्छीमाया तामाङले ‘मानव बेचबिखन बिरुद्ध लडौँ’ भन्ने नारासहित आफ्नो सन्देश विश्वलाई सुनाएकी छिन् ।

यूएन वुमेन नेपालका अनुसार उनी महिला सशक्तिकरण र लैंगिक समानताको सन्देश बोकेर सगरमाथा चढ्ने पहिलो आरोही हुन् । साथै, उनी तामाङ समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने पहिलो महिलासमेत बनेकी छिन् ।

तामाङले सगरमाथाको ८ हजार ८ सय ४८ मिटरको उचाइमा ‘हामी मानिस हौँ, कसैको सम्पत्ति होइनौँ’ भन्ने नारा लेखिएको झण्डासमेत फहराएकी छिन् ।

युएन वुमेनको प्रायोजनमा कान्छीमाया र पेम्बा दोर्जे शेर्पाले सगरमाथाको चुचुरोबाट उक्त सन्देश दिन सफल भएका हुन् ।

सिन्धुपाल्चोकका प्रवासी कामदारको सहयोग, अन्य १९ जना पर्वतारोहीको साथ र अनुकुल मौसमका कारण कान्छीमायाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

पर्यटन तथा उड्डयन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार पेम्बा दोर्जे शेर्पाले यसपटकसहित १६ पटक सगरमाथाको आरोहण गर्न सफल भएका छन् । उनका अनुसार कान्छीमायाको टोलीमा पेम्बा दोर्जे शेर्पासहित अन्य १९ जना विदेशी पर्यटकलेसमेत सगरमाथाको सफल आरोहण गरेका छन् । एजेन्सी