५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


दोस्रो चरणको निर्वाचनको तयारी तीव्र, चुनौती पनि त्यत्तिकै


0
Shares

आयोगले गत शनिबारदेखि दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको हो ।

आयोगले शनिबारदेखि दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर–१, २, ५ र ७ का ४३ ओटा मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा ल्याइसकेको छ । यस्तै, आयोगले निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ ।

निर्वाचन अधिकृतहरु जेठ १५ गतेभित्र आ–आफ्नो कार्यालयमा हाजिर भइसक्ने आयोगले जनाएको छ ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने स्थानीय तहमा मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, फारम अनुसूची र निर्वाचनसम्बन्धी दस्तावेजहरु पुर्‍याउने काम गरिसकेको छ । सामग्री पुग्न बाँकी रहेका स्थानमा भने चाँडै पुर्‍याइने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले जनशक्ति व्यवस्थापनको लागि मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला निर्वाचन कार्यालयका अधिकारी रहेको जिल्ला जनशक्ति व्यवस्थापन समिति गठन गरेको छ । उक्त समितिले निर्वाचनको लागि आवश्यक पर्ने सबै जनशक्ति व्यवस्थापनको काम गर्नेछ ।

आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने पनि जनाएको छ ।

यता, सरकार र मधेसकेन्द्रित दलहरुबीच स्थानीय तहको संख्या बढाउन गृहकार्य भएपनि निर्वाचन आयोगले भने स्थानीय तहको संख्या बढाउन नसकिने प्रस्ट गरेको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या बढाउने विषयमा जानकारी नभएको भन्दै आयोगले ४६१ स्थानीय तहका लागि निर्वाचनको तयारी गरिरहेको जानकारी दिए ।

दोस्रो चरणको निर्वाचनको लागि आयोगलाई चुनौती पनि उत्तिकै छ । पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचन सुरक्षाका दृष्टिले बढी संवेदनशील रहेको सुरक्षा निकायको विश्लेषण छ ।

निर्वाचन आयोगले पनि खुला सिमाना, जनघनत्व, भौगोलिक विविधता र मौसमलाई मुख्य चुनौतीकोरुपमा लिएको छ ।

आगामी जेठ ३१ गते दोस्रो चरणमा ४१ जिल्लाका ४६१ स्थानीय तहमा स्थानीय तह निर्वाचन हुँदैछ । दोस्रो चरणमा करिब ९१ लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।