बजेट जेठ १५ मै, पूर्ण आकारको तर नयाँ कार्यक्रमबिना : अर्थमन्त्री « Image Khabar


बजेट जेठ १५ मै, पूर्ण आकारको तर नयाँ कार्यक्रमबिना : अर्थमन्त्री


Imagekhabar
८ जेष्ठ २०७४, सोमबार १९:५५

बजेट पूर्ण आकारको तर नयाँ कार्यक्रम भने नराखीकन ल्याइने उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी गराएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार बुझाएको बजेटसम्बन्धी सुझाव लिँदै उनले बजेट संवैधानिक प्रावधानअनुसार तोकिएको दिन नै पूर्ण आकारको आउने उल्लेख गरेका हुन् ।

बजेट संविधान कार्यान्वयनमा केन्द्रित हुने पनि उनले जानकारी गराए । बजेटले स्थानीय तह, निर्वाचन, पुनःनिर्माणमात्र सम्बोधन गर्ने तर निर्वाचनका कारण अरु नयाँ कार्यक्रम भने नल्याइने अर्थमन्त्री महराले प्रस्ट पारे ।

अर्थमन्त्री महराले यो वर्षको असार मसान्तसम्म पुँजीगत खर्च परिचालन ८४ प्रतिशत बराबर पुग्ने, जुन गत वर्षको तुलनामा बढी नै भएको पनि दाबी गरे ।

अर्थसचिव शान्तराज सुवेदीले वार्षिक बजेट सामान्य किसिमले आउने बताए ।

‘अहिलेको झन्डै ७ प्रतिशतको आधारभूत आर्थिक वृद्धिदरमा आगामी वर्ष थप साढे ६/७ प्रतिशत हासिल गर्नु कम चुनौती होइन’ भन्दै उनले यसका लागि लगानी बढाउनुको विकल्प नरहेको बताए ।

स्थानीय तहमा ठूलो बजेट विनियोजन हुँदा केन्द्रको चालु खर्च बढी देखिएपनि स्थानीय तहमा गएको रकमको ६० प्रतिशतसम्म भने पुँजीगत रकम नै हुनेतर्फ पनि उनले प्रस्ट्याए ।

केन्द्र र प्रदेशको निर्वाचन एकैपटक गर्दा पनि खर्च कम हुने भएकाले यसका लागि पनि छलफल भइरहेको पनि उनले जानकारी गराए ।

सो अवसरमा सेजनका अध्यक्ष गोकर्ण अवस्थीले जेठ १५ मै बजेट ल्याउने निर्णयको स्वागत गर्दै निर्वाचन र बजेटमा कुनै असर नपर्ने सहज किसिमले पारित हुने बजेट ल्याउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्