विराटनगर र वीरगन्ज महानगरमा परिणत, थपिए २३ वटा स्थानीय तह « Image Khabar


विराटनगर र वीरगन्ज महानगरमा परिणत, थपिए २३ वटा स्थानीय तह


Imagekhabar
९ जेष्ठ २०७४, मंगलवार ०६:५२

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २३ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगर बनाउने र २४ वटा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो ।

कार्यदलले राष्ट्रिय जनता पार्टी नेपालसँग सहमतिमा नै स्थानीय तहको संख्या बढाउने प्रस्ताव गरेको थियो । यसमा राजपा नेपालको सहमति रहेको नेताहरूले बताएका छन् ।

सरकारले विराटनगर र वीरगन्जलाई महानगरमा स्तरोन्नती गरिएको छ । २३ स्थानीय तह थप गरिए पनि वीरगन्जलाई महानगर बनाउने क्रममा बेल्वा गाउँपालिका गाभिएकाले बढ्ने संख्या २२ हो ।

विराटनगरलाई महानगर बनाउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा जदाह गाउँपालिकाको एक वडालाई गाभिएको छ ।

यो निर्णयसँगै मुलुकमा महानगरको संख्या ६ पुगेको छ । साथै देशभर स्थानीय तहको संख्या ७ सय ६६ भएको छ ।

मन्त्रिपरिषद्ले सर्लाही, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा ३/३ वटा स्थानीय तह थप गरेको हो । सुनसरी, पर्सा र रौतहटमा २/२ वटा स्थानीय तह थप भएको छ ।

तर, पर्साको एउटा स्थानीय तह वीरगन्जमा गाभिएकाले त्यहाँ बढ्ने एक मात्र हो । यस्तै बारा, सप्तरी, धनुषा, बाँके र कैलालीमा पनि १/१ स्थानीय तह थप भएको छ ।

सरकारले रौतहटका ११ सहित २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।

महोत्तरीका ३ तथा झापा, बाँके र रुपन्देहीका २/२ गाउँपालिका नगरपालिका भएका छन् । यस्तै कैलाली, सिरहा, धनुषा र बाराका एक गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले म्यादी प्रहरीको समायावधी थप गर्ने निर्णय पनि गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को राष्ट्रिय कार्ययोजना अवधारणालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्