गोली लोड भएको पेस्तोलसहित होटलबाट एक युवक पक्राउ

जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं १०७ मा बसी रहेका युवकसँग हातहतियार रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय सुरज साह सोनार रहेका छन् ।
प्रहरीले उक्त युवकको कोठामा खानतलासी गर्दा उनको सुत्ने ओछ्यानको सिरानीमुनिबाट चार राउण्ड गोली लोड रहेको युएसए अटो पेस्तोल एक थान फेला परेको धनुषाका नायब प्रहरी उपरीक्षक मनोज यादवले बताए ।
साह कुनै आपराधिक घटना घटाउने नियतले जनकपुरमा रहेको र उनले कुन प्रयोजनको लागि हतियार बोकेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । (रासस)