पूर्वछापामार बने गाउँपालिका प्रमुख « Image Khabar


पूर्वछापामार बने गाउँपालिका प्रमुख


Imagekhabar
९ जेष्ठ २०७४, मंगलवार १४:५९

सशत्र युद्धबाट निस्केको १० वर्षपछि ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उनलाई जनताको अभिमत स्वीकार गरेर अघि बढनुपर्ने चुनौती सिर्जना भएको हो ।

घर्तीमगरले भने–‘वि.सं. २०५२ मा अखिल क्रान्तिकारीको एकाइ समिति हुँदै राजनीतिमा प्रवेश गरेको हुँ । पछि विद्यार्थी संगठनकोे जिल्ला कोषाध्यक्ष र उपाध्यक्षसमेत भएँ ।’

तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र युद्ध चर्कंदै जाँदा उनी २०५८ सालमा सैन्य संगठनमा प्रवेश गरेका थिए । सशस्त्र संघर्षकाबेला प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डरसमेत भएर काम गरेको अनुभव घर्तीमगरसँग छ ।

पार्टी शान्ति–प्रक्रियामा आएपछि उनको राजनीतिक जीवनमा पनि फेरबदल आयो ।

‘सेनाबाट निस्केपछि म माओवादीको युवा संगठन वाइसीएलको जिल्ला अध्यक्ष भएर काम गरें’, अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य छु’–उनले भने ।

सशस्त्र युद्धबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने घर्तीमगरको पुरानो मान्यता अहिले भने फेरिएको छ ।

शान्तिपूर्ण राजनीतिक अभ्यास र जनताको सेवाले घर्तीमगरलाई अहिलेको सफलता हात लागेको हो ।

विकासका योजना ल्याउने, जनताको पिरमर्कामा साथ दिने र असल राजनीतिक चरित्र भएकै कारण घर्तीमगरलाई जनताले विश्वास गरेका हुन् ।

आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दण्डपाणि कँडेललाई दुई हजार ३९४ मतले पछि पार्दै उनी गाउँपालिका प्रमुखमा विजयी भएका थिए । कुल खसेको मतमध्ये घर्तीमगरले तीन हजार ३५० र कँडेलले ९५६ मत प्राप्त गरेका थिए ।

सशस्त्र युद्धबाटसमेत बढी प्रभावित उक्त गाउँपालिकाका पाँचओटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

‘सशस्त्र युद्धमा पनि ताराखोलाको ठूलो योगदान छ, आज निर्वाचनमा पनि हामीले विश्वास आर्जेका छौं’–घर्तीमगरले भने ।

जनताको विश्वासलाई डगमगाउन नदिने र समृद्ध ताराखोला निर्माणमा जुट्ने र सबै राजनीतिक दल तथा पक्षहरुसँग सहकार्य गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ ।

सडक सञ्जालको स्तरोन्नति, कृषिको आधुनिकीकरण, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, स्वास्थ्य, पर्यटन, सूचना, प्रविधिलगायतका क्षेत्रको विकास गर्ने योजना घर्तीमगरले अघि बढाएका छन् ।

चुनाव प्रचारकैबेला ७३ वर्षीया बुबा प्रेमबहादुरलाई गुमाएका घर्तीमगरकी आमा, श्रीमती र एक छोरी छन् । उनकी श्रीमती केशरी घर्तीमगर व्यवस्थापिका–संसद सदस्यसमेत हुन् ।

प्राकृतिक स्रोत–साधनले धनी मानिने ताराखोला गाउँपालिकालाई आन्तनिर्भर बनाउने दायित्व पनि उनीसँग छ ।

गाउँपालिका उपप्रमुखमा पनि नेकपा माओवादीकै दिलकुमारी रोका विजयी भएकी छन् । प्रमुख, उपप्रमुखलगायत सबै पदाधिकारी, सदस्यले पदभार ग्रहण गरेर कामसमेत थालिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्