२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म्यानचेस्टर आक्रमण : मर्नेको संख्या २२ पुग्यो, विश्वभरबाट निन्दा


0
Shares

सो सन्ध्याको अन्त्यमा अमेरिकी गायिका एरियाना ग्रान्डेले आफ्नो प्रस्तुती गरिरहेका अवस्थामा भएको आतंककारी हमलामा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ ।

प्रारम्भिक समाचारमा यस घटनामा परी मृत्यु हुने व्यक्ति १९ भएको बताइएतापनि घाइते भएका व्यक्तिमध्ये केहीको मृत्यु भएपछि सो संख्या २२ पुगेको हो ।

बेलायतका प्रधानमन्त्री टेरेसा मेले यो अत्यन्त डरलाग्दो आतंककारी आक्रमण भएको बताउँदै यस घटनाबाट नआत्तिन र सबैलाई सम्हालिन आह्वान गरेकी छिन् । उनले दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासन लागि परेका पनि उनले जानकारी दिएकी छिन् ।

चीनका राष्ट्रपति सि जिनपिङले मंगलबार (आज) भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै बेलायतकी महारानी एलिजावेथ द्धितियालाई समवेदना सन्देश पठाएका छन् । सन्देशमा राष्ट्रपति सिले गहिरो समवेदना व्यक्त गर्नुका साथै मृतक प्रति श्रद्धाञ्जलि अपर्ण गरेका छन् ।

त्यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभत्स हत्याको निन्दा गरेका छन् । उनले यस दुखद् घडीमा बेलायत र बेलायती जनताको साथमा आफू रहेको रहेकासमेत उल्लेख गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकबाद विरुद्धको सहकार्यलाई अझ बढाउन आवश्यक भएकोमा जोड दिएका छन् ।

बेलायतको म्यान्चेष्टरमा भएको आक्रमणको विरोधमा एक सन्देश प्रकाशित गरी राष्ट्रपति पुटिनले अमानवीय अपराध गर्नेहरु अक्षम्य हुने बताएका छन् । उनले आतंकबाद विरुद्ध लड्नका लागि आवश्यक सहयोग र सहकार्य बढाउन आपूm तयार रहेको पनि स्पष्ट पारेका छन् ।

श्रीलंकाको विदेश मन्त्रालयका प्रवक्ता महीशिनी कोलोनेले म्यान्चेष्टरमा भएको आक्रमणबाट श्रीलङका दुखी भएको बताए । उनले अतिकठोर घटनाबाट पीडितप्रति आफ्नो सरकारको सहानुभूति रहेकोपनि ट्वीटरमा लेखेका छन् ।

सिंगापुरको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा निर्दोष मानिसमाथी भएको अमानवीय हमलाको भ्रत्सर्ना गरिएको छ । मृतकप्रति गहिरो श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

इजिप्ट सरकारले म्यान्चेष्टरमा भएको आक्रमणलाई आतंककारी आक्रमण भन्दै आक्रमणकारीको कडा आलोचना गरेको छ । इजिप्टको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आतंकबाद विरुद्ध लड्न आफू सधै बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको स्मरण गराइएको छ ।

म्यान्चेष्टरमा विस्फोटन हुँदा भवन हल्लिएको र अनौठो हावामा उडेको एक जना प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनास्थल क्षेत्रलाई घेराबन्दी गरिएको छ भने नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध गरीएको छ ।

घटनापछि कैयौँ प्रत्यक्षदर्शी अताल्लीएका छन् भने वेलायती जनता त्रसित भएको पाइएको छ । रासस/एएफपी/सिन्ह्वा