शंकर खनाल (इमेज)
काठमाडौं, माघ २९ । सरकारले मेलम्चीको पानी आगामी नयाँवर्षको सुरुआतसँगै काठमाडौं ल्याउने अर्को नयाँ तिथि तोकेको छ ।
आयोजना सम्पन्न हुने अन्तिम चरणमा आएर ठेकेदार कम्पनी सीएमसीले काम नै छोडेर भागेपछि अन्योल बनेको आयोजना यथाशीघ्र सक्ने गरी कामलाई निरन्तरता दिने र आगामी वैशाखमा पानी काठमाडौं ल्याउने सरकारी भनाइ आएको हो ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सुरु भएयता मुलुकमा १८ जना प्रधानमन्त्री फेरिए । २४ जना मन्त्री फेरिए र २७ जना सचिव पनि फेरिए ।
राजनीतिक व्यवस्था र प्रशासनिक पदमा जसरी फेरबदल भए, उपत्यकाबासीको खानेपानीको प्यास मेटाउने लक्ष्य बोकेको मेलम्ची खानेपानी आयोजनाको निर्माणमा पनि निकै उतार–चढाव आइ नै रह्यो ।
तर, मुख्य कुरा मेचम्चीको पानी कहिलेसम्म काठमाडौंबासीले पिउन पाउने हुन् ? यो भने अझै टुंगो छैन ।
९० प्रतिशतमाथि काम सकिँदै गर्दा इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छोडेर अलपत्र पारेपछि आयोजना नै अन्योलजस्तो बन्न पुगेको छ ।
सीएमसीबाटै काम सम्पन्न गराउने सरकारी प्रयास सफल हुन सकेन । अन्ततः सरकार नयाँ ठेकेदारबाट बाँकी काम सम्पन्न गराउने निर्णयमा पुगेको छ ।
सीएमसीले सम्झौताको झन्डै ७२ प्रतिशत रकम आफ्नो देशमा लाने गरेको र २८ प्रतिशत रकममा काम सक्न खोजेपछि सरकारले सबै रकम इटाली लान नपाउने भन्दै रोकेपछि आयोजना सम्पन्न हुने समयमा आएर विवाद सतहमा देखिन पुगेको हो ।
सरकारले जथाभावी रकम भुक्तानी दिन कडाइ गरेको र यसमा एसियाली विकास बैंक र अर्थ मन्त्रालय पनि दोषी रहेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको भनाइ छ ।
मेलम्ची खानेपानी आयोजनाको काममा ८०० मिटर फिनिसिङ, दुईओटा हावा फाल्ने भेन्टिलेसन, पाँचओटा गेट निर्माण र मनिटरिङका लागि क्यामेरा जडान गर्न झन्डै ३५ करोड रकम बराबरको काम बाँकी रहेको बताइन्छ ।
समयमै आयोजना सम्पन्न गर्न नदिने तत्व सक्रिय रहेपनि २० वर्षमा नभएको काम ६ महिनामा भएको भन्दै सचिव ठाकुरले वर्तमान सरकारले यसै वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याइने दाबी गरे ।










प्रतिक्रिया दिनुहोस्