जनप्रतिनिधिको चयनपछि सेवा प्रवाह ‘चुस्त–दुरुस्त’ « Image Khabar


जनप्रतिनिधिको चयनपछि सेवा प्रवाह ‘चुस्त–दुरुस्त’


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार १५:४१

निर्वाचनबाट सिन्धुलीका सबै स्थानीय तहमा नयाँ जोश, जाँगर र उमंगका साथ जनप्रतिनिधिहरु निर्वाचित भएपछि धमाधम शपथग्रहण, पदभारग्रहणको काम तीव्ररुपमा भइरहेको छ । त्यस्ता कार्यक्रममा स्थानीय मतदाताकोसमेत उत्साहपूर्वक सहभागिता हुँदै आएको छ ।

करिब १९ वर्षपछि स्थानीय तहको निर्वाचनबाट स्थानीयले आफ्ना प्रतिनिधि मतदानबाट चुनेपछि सेवाग्राहीले सरकारी कामकाज र विकास निर्माणसम्बन्धी आफ्ना समस्या खुलस्त राख्ने अवसर पाएका छन् भने नवनिर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहका समस्या समाधानमा ध्यान दिन थालेका छन् ।

जिल्लाको विकासमा कुनै कसर बाँकी नराख्ने एमालेबाट विजयी भएका कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री बताउँछन् ।

नेपाली कांग्रेसबाट सुनकोसी गाउँपालिकामा विजयी अध्यक्ष दीपा बोहरा खत्रीको भनाइ पनि त्यस्तै छ ।

विगत लामो समयसम्म सुनसान रहेका सिन्धुलीका स्थानीय तहमा निर्वाचन सम्पन्न भइ जनप्रतिनिधिको चयन भएपछि सेवा र सुविधासम्बन्धी काम लिएर आउने स्थानीय सेवाग्राही घुइँचोसमेत लाग्न थालेको छ ।

संविधानमा राज्यपुनःसंरचनाअनुसार बनेका नगरपालिका, गाउँपालिकाका लागि प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्यहरुले सिंहदरबारको अधिकारलाई नगर, गाउँबाटै जनताको घरदैलोमा पुर्‍याउनका लागि नयाँ जोश, जाँगर र उमंगका साथ कार्यसन्चालन गर्न थालेपछि सिन्धुली जिल्लाका सर्वसाधारणमासमेत नगर–गाउँको विकास हेर्ने रहर पलाएको छ ।

सिन्धुलीका ९ स्थानीय तहमध्ये दुई नगरप्रमुख, ६ गाउँपालिकाका अध्यक्ष, एक उपाध्यक्ष पुरुषले पाएका छन् भने दुई नगरउपप्रमुख, एक गाउँपालिका अध्यक्ष, ६ उपाध्यक्षमा महिलाले नेतृत्व पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्