
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्दै दाहालले राजनीतिमा ‘मर्दै गएको इमानलाई जगाउन’ नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा गर्दै उनले दल र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रैपटक च्यातिएका थुप्रै उदाहरण रहेको भन्दै सत्तासाझेदारीका हकमा त अहिलेसम्म कुनैपनि समझदारी पालना नभएको तर आफूले नयाँ संस्कार बसाउन पनि राजीनामा दिएको प्रस्ट गरे ।
१० महिनाअगाडि नेपाली कांग्रेससँग भएको सहमतिअनुसार उनी प्रधानमन्त्री बनेका थिए ।
राजीनामा घोषणा गर्नुपूर्व प्रधानमन्त्री दाहालले आफ्नो १० महिने कार्यकालमा गरिएका उपलब्धिहरुको फेहरिस्त पेस गरेका थिए ।
उनले ‘फास्ट ट्रयाक’, चिनियाँ सरकारसँग गरिएको ‘वन बेल्ट वन रोड’को सम्झौता, बूढीगन्डकी जलाशय परियोजना बनाउन चिनियाँ सरकारलाई दिने निर्णय, हुलाकीसडक निर्माणमा भएको प्रगतिलगायत विषयलाई आफ्नो कार्यकालको उपलब्धिकारुपमा पेस गरे ।
सम्बोधनकाक्रममा प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिकरुपमा रहेको समस्या र असमक्षदारी हटाएको दाबी गरे ।
संविधान र संघीयता कार्यान्वयनस्वरुप स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेको उल्लेख गर्दै उनले शान्ति–प्रक्रियाको काम, भूकम्पपछि पुनःनिर्माण र पीडितलाई राहत वितरणलगायतका काममा उल्लेख्य प्रगति गरेको दाबी गरे ।
त्यस्तै, तराई–मधेस आन्दोलनकाक्रममा सहादत प्राप्त प्रहरी र नागरिकलाई सहिद घोषणा र राहत वितरणको कार्य गरिएको पनि उनको भनाइ थियो ।
उनले १० महिनाको छोटो अवधिमा देशको अवस्था बद्लिएको, पहिलो चरणको स्थानीय तह निर्वाचन भएको र दोस्रो चरणको निर्वाचनका लागि सबै माहोल तयार भएको भन्दै पहिलोजस्तो उत्सवकोरुपमा सफल हुने विश्वास व्यक्त गरे ।
आफ्नो सरकारले विदेश सम्बन्धमा सन्तुलित भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री दाहालले भारत र चीनसँगको सम्बन्ध हार्दिकतापूर्ण बनेको उल्लेख गरे ।
उनले अब आफू राष्ट्रिय एकता र सहमतिका निम्ति प्रयासरत् रहने पनि बताए ।
दाहाल २०७३ साउन १९ गते व्यवस्थापिका–संसदमा ३६३ को बहुमत प्राप्त गरी दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीकारुपमा निर्वाचित भएका थिए । उनी २०६५ साल साउनमै पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्