
पहिलो चरण अन्तर्गत ३४ जिल्लाको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको सुचिमा रहेको पुर्वी पहाडी जिल्ला धनकुटामा निर्वाचनको चहलपहल बढेको हो । धनकुटामा राजनीतिक दलहरुलाई चुनावी प्रचारप्रसार गर्न भ्याई–नभ्याई भएको छ ।
२०५४ सालको स्थानीय निकायको चुनावमा तत्कालिन ३५ गाविस र एक नगरपालिकामध्ये कुनै स्थानीय निकायमा पनि प्रमुखको पद जित्न नसकेको नेपाली कांग्रेस यो पटक भने नयाँ संरचना अनुसारको तीन नगरपालिका र चार गाउँपालिकामा बढीभन्दा बढी स्थानीय तह आफ्नो पक्षमा पार्ने दाउमा छ । जसका लागि हरसम्भव प्रयासहरु गरिरहेको नेपालीका कांग्रेस धनकुटाका उपसभापति नबिन किशोर शाक्य बताउँछन् ।
यता, अघिल्लो स्थानीय निकायको निर्वाचनमा एक गाविस बाहेक ३४ गाविस र एक नगरपालिकामा एकछत्र कब्जा जमाएको नेकपा एमाले यो स्थानीय तहको निर्वाचनमा समेत सोही लय पकड्ने दाउमा छ । एमालेले आफ्नो कुरा राख्न गाँउगाँउ खटिसकिएको एमाले धनकुटाका नगर अध्यक्ष अर्जुन छारा बताउँछन् ।
यता माओवादी केन्द्र पनि चुनावी माहोल आफ्नो पक्षमा पार्न सम्पूर्ण शक्ति परिचालित गरि जनताको घर दैलोमा पुगिरहेको माओवादी केन्द्रका धनकुटा इन्चार्ज हेमराज भण्डारी बताउँछन् ।
यी मुख्य तीन दलजस्तै जिल्ला निर्वाचन कार्यालय धनकुटामा दर्ता भएका बाँकी १४ दल पनि निर्वाचनमा आ–आफ्नै योजना र उद्देश्यका साथ होमिएका छन् ।
यता ३४ जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा बढी मत बदर भएपछि निर्वाचन कार्यालयलाई भने बदर मतको प्रतिशत घटाउन चुनौति थपिएको छ । जसका लागि मतदाता शिक्षा कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी केशव पौडेल बताउँछन् ।
धनकुटामा कुल ९५ हजार ८ सय ८७ जना मतदातालाई आफ्नो प्रतिनिधि छान्न सातै स्थानीय तहमा गरी १ सय १७ मतदानस्थल तोकिएको छ । धनकुटामा रहेका सात स्थानीय तहमा आउँदो पाँच बर्षका लागि ७ प्रमुख ७ उपप्रमुख ६० वडाध्यक्ष र २ सय ४० सदस्य गरी कुल ३ सय १४ प्रतिनिधि छानिने छन् ।
प्रतिक्रिया दिनुहोस्