स्थानीय निर्वाचनमा भाग नलिने राजपाको निर्णय

फाइल फोटो
केही दिनदेखि अनिर्णयमा रहेको उक्त पार्टीको अध्यक्षमण्डलको शुक्रबार (आज) विहान बसेको बैठकले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा नजाने निर्णय गरेको हो ।
यस विषयमा पार्टीले केहिबेरमा पत्रकार सम्मेलन गर्दैछ । यसैबारेमा राजपा नेपालले संघीय गठबन्धनसँग शुक्रबार (आजै) बैठक गर्ने जनाएको छ ।
यसअघि बिहीबार (हिजो) राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरमका उपेन्द्र यादवबीच निर्वाचनमा सहभागिताका बारेमा छलफल भएको थियो ।
बैठकमा दुई फोरमका अध्यक्षले राजपा नेपाललाई स्थानीय निर्वाचनमा सहभागि बनेर पछिल्ला उपलब्धिलाई संस्थागत गर्न आग्रह गरेका थिए । ठाकुरले भने निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिह्न दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका थिए ।
ठाकुरले आफूहरु चुनावविरोधी नभएको तर आयोगमा पार्टी दर्तापनि नभएको र चुनाव चिह्नपनि नपाएकाले चुनावमा जान गाह्रो परेको भन्दै दल दर्ता र चिह्न प्रदानका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।
यादव र गच्छदारले राजपालाई चुनाव चिह्न दिलाउन सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।