५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


उम्मेदवार छनोटको विषयमा कांग्रेस कैलालीमा विवाद


0
Shares

धनगढी उपमहानगरका वडाध्यक्षका उम्मेदवारको नाम पार्टीले सार्वजनिक गरेपछि वडाध्यक्षका अन्य आकांक्षी असन्तुष्ट बनेका छन् ।

पुराना र योगदान दिएका कार्यकर्तालाई पाखा लगाएर उम्मेदवार छनोटको जिम्मा पाएका पार्टीका नेताहरुले आफ्ना आसेपासेलाई टिकट दिएको भन्दै असन्तुष्ट कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा ताला लगाएका छन् ।

कांग्रेस कैलालीका सभापति नरनारायण शाह र कांग्रेसका नेता एवं सांसद पुष्करनाथ ओझाबीचको सहमतिका आधारमा धनगढी उपमहानगरका विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारको छनोट गरेको बताइएको छ । छनोटपछि अन्य आकांक्षी असन्तुष्ट बनेका हुन् ।

उपमहानगरको प्रमुख र उपप्रमुखमा कसलाई टिकट दिने भन्ने निर्णय अहिलेसम्म हुनसकेको छैन । प्रमुखका लागि कृष्णबहादुर महरा र नृप ओड आकांक्षी रहेका छन् ।

कांग्रेसका जिल्ला सचिव दीपकराज जोशीले पार्टीमा टिकट वितरणलाई लिएर सामान्य विवाद देखिएको स्वीकार्दै विवाद विस्तारै मत्थर हुँदै जाने दाबी गरे । कांग्रेसले जिल्लाका सबै गाउँपालिकाका उम्मेदवारको टुंगो लगाइसकेको छ ।

जानकी नगरपालिकाको प्रमुखमा गंगा चौधरी र उपप्रमुखमा सूर्य वटलालाई उम्मेदवार बनाउने निर्णय गरेको जोशीले बताए ।

यसैबीच, राप्रपाले धनगढी उपमहानगरको प्रमुखमा विष्णुबहादुर शाहु र उपप्रमुखमा श्रीमती जनक कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाइसकेको राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंहले जानकारी दिए । रासस