२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


जानकी मेडिकल कलेजको भविष्यमाथि प्रश्न, सञ्चालकको मनसाय गलत हो ?


0
Shares

विगत १७ महिनाको तलब नपाएको भन्दै तीन महिनादेखि कलेज बन्दगरी आन्दोलनमा रहेका कर्मचारीले रकमको अभावले कष्टकर दिन बिताउन बाध्य भएको गुनासो गरेका छन् ।

रिर्पोटस् क्लब जनकपुरधाम शाखाले आयोजना गरेको अन्र्तक्रियामा उनीहरुले रकम अभावको समस्याले जीवनयापन कठिन बनेको बताए ।

कलेजका सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लगानी गरेका कारण कलेजको सञ्चालनको सम्भावना झिनो हुँदै गएको आरोप कर्मचारीहरुले लगाए ।

कर्मचारी र चिकित्सकले पाउनुपर्ने तलव, सुविधा र सञ्चयकोषको रकम एक अर्बभन्दा अधिक भइसक्दा पनि सञ्चालकले यसलाई व्यक्तिगत व्यवसायको स्रोत बनाएको आरोप संघर्ष समितिका अध्यक्ष सुरेन्द्र पाठकले लगाए ।

कलेजको आम्दानीबाट करिब रु १६ करोड सञ्चालक समूहले कलेजमा लगानी नगरी विमान सञ्चालनमा लगानी गरेकाले सञ्चालकको मनसाय गलत देखिएको समितिका उपाध्यक्ष सञ्जय चौधरीले बताए ।

सञ्चालकले बक्यौता तलबमध्ये दुई महिनाको तलब तत्काल उपलब्ध गराइ बाँकीलाई प्रत्येक महिनाको किस्तामा पारेर क्रमशः भुक्तानी गरी कलेज सञ्चालन गर्न प्रहरीको सक्रियता बढाएकोप्रति कर्मचारीले विरोध जनाउँदै सञ्चालकसँग एकमुष्ठ तलब भुक्तानीको मागसहित बन्द कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

यसैबीच सञ्चालक समूहका लामाले कलेज र अस्पतालमा कार्यरत चिकित्सक एवम् कर्मचारीलाई अस्पताल भवनमा गैरकानुनी ढंगले गरेको तालाबन्दी र बन्द कार्यक्रमलाई रोकी कामकाजमा फर्कन आह्वान गरेपनि संघर्ष समितिले कलेज अन्यलाई बिक्री गर्ने षड्यन्त्र भएको भन्दै यसप्रति सबैलाई सजग हुनआग्रह गरेका छन् ।

सो कलेजमा जेठ ४ गतेदेखि र अस्पतालमा फागुन २ गतेदेखि सम्पूर्ण कामकाज ठप्प भएको छ । रासस