१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता


0
Shares

खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्नेक्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउँदा–२२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृतअवस्थामा फेलापरेका छन् भने उनकी श्रीमती २१ वर्षीया रिना तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बेपत्ता रिनाको खोजी भइरहेको छ । शुक्रबार सो क्षेत्रमा ठूलो वर्षा भएकाले खोला बढेको स्थानीयवासीले बताएका छन् ।

खोलामा पानीको सतह बढे पनि दुबै एकैसाथ खोला तर्नेक्रममा अचानक बगेको बताइएको छ ।

सुतेकै ठाउँमा मृत फेला
यसैगरी, ताप्लेजुङ सदरमुकाम फुङ्लिङको एक होटलमा बेलुकी खाना खाएर सुतेका ट्रक चालक सुतेकै ठाँउमा मृत फेलापरेका छन् ।

फुङ्लिङ नगरपालिका–४ मा स्टाफ होटलमा खाना खाएर सुतेका ना२ख ८५६९ नम्बरको ट्रकका चालक गणेश खवास शनिबार बिहान मृतअवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

झापा घर भएका अन्दाजी ४०/४५ वर्षीय खवास सहचालकसँगै सुतेका थिए । बिहान उठ्नेक्रममा उनलाई मृतअवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । रासस