कैलाली, माघ २८ । रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडमाथि २ रनको सनसनीपूर्ण जित हासिल गरेको छ ।
सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ‘अलआउट’ हुनुपूर्व १११ रन बनाएको थियो ।
खराब सुरुआत गरेको रुपन्देहीले ५ रनमा पहिलो विकेट गुमाउँदा ५५ रनमा ५ विकेट खेरफालेको थियो ।
रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७, विनोद भण्डारीले १९, सन्दीप सुनारले १५ र बाबर हायातले १४ रन जोडे । अरु खेलाडी क्रिजमा जम्न सकेनन् ।
महेन्द्रनगर युनाइटेडका सिद्धान्त लोहनीले ३ तथा सागर ढकाल र अभिनाश बोहराले समान २/२ विकेट लिए ।
जवाफमा महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रनमात्रै बनाउन सक्यो ।
महेन्द्रनगरका ओपनर दिलीप नाथ ८ रन, कप्तान शरद भेषावकर ४ रनमा आउट भए । यस्तै, कुशल मल्ल ९ र आरिफ शेख ५ रनमा पेभेलियन फर्किए ।
भारतीय खेलाडी सुप्रमनियम आनन्दले २५ तथा कीर्तिमानी ब्याट्सम्यान रोहितकुमार पौडेलले २४ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।
महेन्द्रनगरका मोहम्मद नाभिदले १२ रनको योगदान गरे ।
रुपन्देहीका विक्रम सोबले ३ तथा पुनित मेहराले २ विकेट लिए ।
सोमबारै भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै विजयी सुरुआत गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्