
जेठ ३१ गते प्रदेश नम्बर–१, २, ५ र ७ को निर्वाचन मिति तोकिएको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय जनता पार्टी नेपालले चुनावमा सहभागी हुन विभिन्न माग अघि सारेको छ ।
राजपा नेपालले अघि सारेका मागका विषयमा शनिबार कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गरेको छ ।
छलफलमा राजपाले संविधान संशोधन, पार्टी दर्ता, चुनाव चिह्न, पार्टीको झन्डा, तराई आन्दोलनकाक्रममा लगाइएका मुद्दा फिर्ता, सहिद घोषणालगायत माग राखेको थियो ।
बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले राजपाका सबै मागका विषयमा प्रमुख दलबीच छलफल गरी सहमतिमा पुग्ने प्रयास भइरहेको बताए ।
रासससँग कुरा गर्दै बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षीसहित सबै दलसँग छलफल गरी समस्या समाधान गरेर राजपालाई पनि चुनावमा सहभागी गराउने गरी कुराकानी भइरहेको बताए ।
‘कांग्रेसले संविधान संशोधनको वाचा पूरा गर्ने प्रतिबद्धता जनाएको छ, अहिलेको समस्यालाई गम्भीररुपमा लिइ निर्वाचनको वातावरण बनाउन राजपालाई आग्रह गरिएको छ, पूरा गर्न सकिने माग चुनावअघि नै पूरा गर्नेगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि कुरा हुन्छ’–उनले भने ।
कांग्रेसले आफ्ना मुद्दा जनतामा लिएर गइ अनुमोदन गर्न पनि राजपालाई अनुरोध गरेको मन्त्री केसीले बताए ।
छलफलमा सहभागी भएका राजपा नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिने वातावरण बनाउन कांग्रेस नेतासँग वार्ता भएको जानकारी दिए ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत नेताको सहभागिता थियो ।
राजपाका तर्फबाट अध्यक्षमन्डलका अध्यक्ष महन्थ ठाकुर एवं सदस्य राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रराय यादव, अनिल झा र राजकिशोर यादव सहभागी थिए ।
कांग्रेसले तीन प्रदेशका उम्मेदवार टुंग्यायो
राजपासँगको बैठकपछि बसेको कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ सदस्यको बैठकले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर–१, ५ र ७ का पहाडी जिल्लामा उम्मेदवारको टुंगो लगाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।
२ नम्बर प्रदेशका उम्मेदवार निर्वाचन क्षेत्र र जिल्लामै छलफल भइरहेको बताउँदै उनले त्यहाँबाट नटुंगिए शनिबार साँझ केन्द्रीय कार्यालयमा आउने बताए । बाँकी उम्मेदवार आइतबार बिहान बस्ने बैठकले टुंग्याउने कांग्रेसले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्