कैलाली, माघ २८ । काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटको पराजित गरेको हो ।
सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले दिएको १३३ रनको विजय लक्ष्य ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।
काठमाडौंका लागि अंकिद दबासले २९, गौरव तोमारले २८, अनिलकुमार साहले २४, विक्रमकुमार भुसालले अविजित १४, महबुब आलमले अविजित १२ रनको योगदान गरे ।
धनगढीका रोहन मुस्तफाले सर्वाधिक ४ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित् २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।
धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक, सन्दीप रजाइलीले २८ रन, सौरभ खनालले २५ र पवन सर्राफले १९ रन जोडे ।
काठमाडौंका लागि नन्दन यादव २ तथा ललित राजवंशी र अंकित दबासले १/१ विकेट लिए ।
डीपीएलको दोस्रो संस्करणको उपाधि टिम चौराहा धनगढीले जितेको थियो । योपालि धनगढी स्टार्सको नाममा घरेलु टोली प्रतियोगितामा सहभागी भएको छ ।








प्रतिक्रिया दिनुहोस्