बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास, कसले के भने ? « Image Khabar


बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास, कसले के भने ?


Imagekhabar
१४ जेष्ठ २०७४, आईतवार १२:५८

बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले नीति तथा कार्यक्रम वर्तमान राजनीतिक समस्या समाधानमुखी भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थामा देखाएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै सांसद गिरीले संविधान संशोधनका लागि प्रतिपक्षीलाई समेत विश्वासमा लिएर जानुपर्ने विचार व्यक्त गरे ।

प्रजातन्त्रमा सबैलाई समेट्न सके मात्र व्यवस्था दिगो हुने उल्लेख गर्दै उनले मधेस समस्या समाधानका लागि नीति कार्यक्रममा संविधानको दायरा झन् फराकिलो गर्ने कुरा सकारात्मक छ भने ।

नेकपा (एमाले) का रेवतीरमण भण्डारीले नीति तथा कार्यक्रमले चालु आवका कार्यक्रमलाई नै निरन्तरता दिएको उल्लेख गर्र्दै यसले वर्तमान अवस्थामा मुलुकमा सबैलाई एक ढिक्का बनाएको र कोही पनि पक्ष विपक्ष नभएको बताए ।

सरकारले विद्युत्भार कटौती अन्त्य र आर्थिक वृद्धिमा प्राप्त गरेको सफलता सकारात्मक भएको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रममा जनतामा विश्वास जगाउने कुरा आएको बताए ।

नेकपा (माओवादी केन्द्र) की रेखा शर्माले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारको अधिकार गाउँनगरसम्म पुर्‍याउने कार्य प्रशंसायोग्य भएको उल्लेख गर्दै आर्थिक वृद्धिदर र उज्यालो नेपाल स्वागतयोग्य रहेको बताए ।

राप्रपाका परशुराम तामाङले नीति कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ समेट्नु स्वागतयोग्य हो भन्दै बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास व्यक्त गरे ।

सङ्घीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपालीले कृषिको आधुनिकीकरण तथा सबै प्रदेशमा मुटु अस्पताल बनाउने लगायत जनहितकारी योजना नीति कार्यक्रममा समेटिनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्