निर्वाचनका लागि महोत्तरीमा सेना खटाइयो

फाइल फोटो
यही जेठ ३१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै महोत्तरीका पाँच स्थानमा नेपाली सेनाको शिविर स्थापना गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रजिअ वीरेन्द्र यादवले बताए ।
उनकाअनुसार जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट रैफल गणबाट नेपाली सेनाका पाँच टुकडीलाई जिल्लाको प्रत्येक क्षेत्र समेट्ने गरी खोपी, खुट्टा, साँढा, पिपरा गाउँ र गौशाला नगरपालिकामा शिविर स्थापना गरेर निर्वाचनमा विशेष सुरक्षाको जिम्मेवारी दिँदै खटाइएको हो ।
फस्ट रैफल गण जलेश्वरबाट खोपी गाउँमा एक सय १०, खुट्टा गाउँमा एक सय १०, गौशाला नगरपालिकामा एक सय १०, साँढा गाउँमा ९६ र गणले जलेश्वरबाटै हेर्ने गरी पिपरा गाउँमा एक सय १० जना नेपाली सैनिकलाई खटाइएको गणपति कृष्ण खड्का क्षेत्रीले बताए ।
महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका क्षेत्रभित्र पर्ने प्रत्येक मतदान केन्द्रमा सेनाले सुरक्षाका साथ निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्ने प्रअिज यादवले बताए ।
उनकाअनुसार निर्वाचन अवधिभर नेपाली सेना जिल्लाको प्रत्येक गाउँ–ठाउँमा खट्ने तथा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भइसकेपछिमात्र गणमा फर्कनेछ । रासस