Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


महाअभियोग प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु


0
Shares

                                                                                       फाइल फोटो
महाअभियोग प्रस्तावमा नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थकले नै आइतबार व्यवस्थापिका–संसद सचिवालयमा महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रस्ताव पेस गरेका छन् ।

प्रस्तावमा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै महाअभियोग प्रस्ताव अघि बढाउन उपयुक्त नहुने हुँदा उक्त प्रस्ताव अघि नबढाउन अनुरोध गरिएको छ ।

सभामुख ओनसरी घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माकाअनुसार महाअभियोग प्रस्ताव अघि नबढाउने विषयमा व्यवस्थापिका–संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रस्ताव अघि नबढाउने विषयमा छलफल गर्न भने बाँकी छ ।

महाअभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव व्यवस्थापिका–संसद सचिवालयमा पेस गर्नुअघि सभामुख घर्तीमगरले महाअभियोग प्रस्ताव फिर्ता लिनका लागि कानुनी प्रक्रियाका विषयमा संसदमा रहेका नेपाली कांग्रेसका रमेश लेखक, एमालेका रेवतीरमण भण्डारी, माओवादी केन्द्रका रामनारायण विडारी र सचिवालयका कानुनी सल्लाहकार अर्जुनकुमार खड्कासँग परामर्श लिएकी थिइन् ।

महाअभियोग प्रस्तावमा नेपाली कांग्रेसका सांसद विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बस्नेत मुख्य समर्थकले नै गत वैशाख १७ गते व्यवस्थापिका–संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावमा सत्तासाझेदार दुबै दलका २४९ सांसदको हस्ताक्षर रहेको थियो ।

नेपालको संविधानको धारा १०१ को उपधारा (२)मा भएको व्यवस्थाबमोजिम दर्ता गरिएको उक्त प्रस्तावमा प्रधानन्यायाधीश कार्कीमाथि सरकारको कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेको अभियोग लगाइएको थियो । रासस