
दुर्घटना न्यूनीकरण र समय व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ–नयाँ उपाय त खोजिरहेको छ, तर चुनौती पनि उत्तिकै थपिँदो छ ।
बढ्दो सहरीकरण, साँघुरा सडक र अनियन्त्रितरुपले भित्र्याइँदै गएका सवारी–साधनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै गएको छ ।
यसै त राजधानीको व्यस्त दैनिकी, त्यसमाथि ट्राफिकजामका कारण गन्तव्यमा पुग्न बाठमाडौंबासीले हैरानीमात्र खेप्नुपरेको छैन, कतिपय अवस्थामा दुर्घटनाको शिकारसमेत बन्नुपरेको छ ।
सवारीचालकलाईमात्र होइन, पैदलयात्रीलाईसमेत सधैं हतार हुने भएकाले बीच सडकबाटै बाटो काट्दा दुर्घटनाहरु हुने गरेका छन् । यसले ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त हुने गरेको छ ।
काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जथाभावी बाटो काट्ने पैदलयात्रीलाईसमेत कारबाही गर्न सुरु गरेको छ ।
ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई प्रतिव्यक्ति २०० रुपैयाँ जरिवाना गर्न सुरु गरेको हो । जरिवाना तिर्न नचाहनेहरुले तीन घन्टासम्म ट्राफिक प्रहरीकै हिरासतमा बस्नुपर्नेछ । यसले दुर्घटनाको खतरा कम हुने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।
ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेपछि पैदलयात्रीले भने असन्तुष्टि जनाएका छन् । उनीहरु सडक वारपार गर्ने व्यवस्थित ठाउँ नहुँदा बाध्य भएर बाटो काट्नुपरेको गुनासो गर्दछन् ।
नियम मिचेर सडक वारपार गर्दा पक्राउ परेकाहरुले भने ट्राफिक प्रहरीको अभियान राम्रो भएपनि जरिवाना नै तिराउने नियम भने उचित नभएको बताए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्