
बासुदेव बर्मा
कपिलवस्तु, असार २० । कपिलबस्तुमा आइतबारबाट दुई दिनसम्म भएको वर्षासँगैको बाढीले मायादेवी गाउँपालिका वडा नं. ८ स्थित बरकुल, बिजुवा, जमुनी र हरिवंशापुर गाउँको ७ सय बिघा खेतीयोग्य जमिनमा किसानहरुले लगाएका धान र धानको बीउ बगाएको छ ।
मायादेवी गाउँपालिका वडा नं. ८ बिजुवासँगै जोडिएको भारतको मझौली तालमा लगाएको अग्लो तटबन्धमा रहेका ८ वटा ढोकामध्ये हालसम्म तीनवटा मात्र ढोका खोल्दा ७ सय बिघा खेतीयोग्य नेपाली भूभाग जलमग्न भएको हो ।
बिजुवाको दक्षिणतर्फ भारतको सीमानामा पर्ने सिसवा र मझौली तालमा भारत सरकारले सिंचाइको लागि तटबन्ध गरी पानी थुनिदिएकाले यस्तो समस्या आएको हो । भारत सरकारले आफ्नो सीमा क्षेत्रभित्र सिंचाइको लागि बनाएको अग्लो तटबन्ध र फाटकले नेपाली भूभाग वर्षेनि डुबान हुँदै आएको वडाध्यक्ष कृष्णनारायण तिवारीले बताए ।
किसानहरुको करिब ७ सय बिघा जमिन जलमग्न हुँदा धान रोप्न नसकेर किसान चिन्तित छन् । भारतीय पक्षले पानी रोक्दा बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुलगाउँको बीचमा रोपाई गरिएको करिब ३ सय बिघा धान खेती बाढीले बगाएको स्थानीयले जानकारी दिए ।
भारतीय बाँधका कारण समस्या आउने गरेको भन्दै स्थानीयले साबिक जिल्ला विकास समिति कार्यालय कपिलवस्तु तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय भैरहवामा समेत योजनाहरु माग गर्दै आएका थिए । तर सुनुवाई नहुँदा यस वर्ष पनि स्थानीयले विगतमा झैं डुबानको समस्या झेल्नु परेको छ ।
अहिलेसम्म दिगो तटबन्ध निर्माणका लागि कुनै ठोस योजना नपरेकोले मायादेवी गाउँपालिका, प्रदेश र संघीय सरकारमा गाउँपालिकादेखि नै डुबान क्षेत्रका लागि सिसई नदी तटबन्ध योजना माग गर्ने निर्णय गरिएको वडा अध्यक्ष तिवारीले बताए ।
त्यसैगरी मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले बिजुवाको डुबान क्षेत्रमात्रै नभई मायादेवी गाउँपालिकाकको पिपरामा रहेको तुल्सीडिहवा तालले पनि खेती योग्य जमिन डुबानमा परिरहदा त्यसलाई सिंचाई क्षेत्रका लागि मर्मत गर्न आपmूले पहल गर्ने र प्रदेश तथा संघीय सरकारसँग पनि समन्वय गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्