स्थानीय तहमा वित्तीय हस्तान्तरण सुरु गरेको बजेट ऐतिहासिक : अर्थमन्त्री « Image Khabar


स्थानीय तहमा वित्तीय हस्तान्तरण सुरु गरेको बजेट ऐतिहासिक : अर्थमन्त्री


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार २०:३७

माथि अड्कने बजेट सिधै तल पुगेको र दुबै तहको बजेट कार्यान्वयनका लागि कार्यविधि बनाइ अख्तियारीसमेत सहज बनाएकाले बजेट अवश्य कार्यान्वयन हुने उनको भनाइ छ ।

बजेटपश्चात् मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले भोलि आफू जुनसुकै भूमिकामा रहँदासमेत बजेट कार्यान्वयनका लागि लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

वर्तमान समयमा योभन्दा सन्तुलित बजेट ल्याउन सकिने अवस्था नरहेको पनि उनले उल्लेख गरे ।

स्थानीय तहमा वित्तीय हस्तान्तरण थालेको यो ऐतिहासिक बजेट रहेको अर्थमन्त्री महराले दाबी गरे ।

पुनःनिर्माण र स्थानीय तहमा उल्लेख्य रकम विनियोजन गर्नुपरेकाले बजेटको आकार केही ठूलो भएको पनि उनले उल्लेख गरे ।

पुनःनिर्माण, ऊर्जा, कृषि, सेवा क्षेत्र विस्तार, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरुको कार्यान्वयनबाट लक्षित ७ दशमवल २ प्रतिशतको आर्थिक वृद्धि पनि हासिल हुने प्रशस्त आधारहरु रहेको पनि उनले जानकारी गराए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्वाचनमार्फत् राजनीतिक अधिकार र बजेटमार्फत् वित्तीय अधिकार तलसम्म गएको भन्दै यो वर्षको लक्षित वृद्धि त छँदैछ केही वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिसमेत सम्भव भएको उल्लेख गरे ।

चालु आर्थिक वर्षमा प्राथमिकता तोकेर ४ सय ८४ कार्यक्रम निर्माण गरिँदै आएकोमा अब १२ सय १९ कार्यक्रम बनाएर गएकाले देशको आर्थिक क्रियाकलाप पनि बढ्ने उनको विश्वास छ ।

स्थानीय तहमा गएको खर्चले केन्द्रको चालु खर्च बढेको देखिएपनि समग्रमा चालु आर्थिक वर्षभन्दा बढी समग्रमा ६६ प्रतिशत विकास खर्च रहेको पनि उनले दाबी गरे । ४४ प्रतिशतमात्र चालु खर्च रहेको उनको दाबी छ ।

यस्तै, अर्थसचिव शान्तराज सुवेदीले आयोजना कार्यान्वयन मोडालिटी, तालिकाअनुसार हुने र चालु वर्षमा पुँजीगत खर्च बढाउन गरिएको प्रयासले आगामी वर्षको प्रभावकारिता बढ्ने पनि दाबी गरे ।

राजश्वसचिव राजन खनालले करका दरहरु नबढेपनि स्थानीय संरचना विकास, स्थानीय तहमा गएको बजेट, पूर्वाधार, पुनःनिर्माणको गतिसँगै राजश्व वृद्धि हुने भन्दै लक्ष्यप्राप्तिका आधारहरु रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्