पूर्ण पतनको अवस्थामा पुग्यो यमन : राष्ट्रसंघ « Image Khabar


पूर्ण पतनको अवस्थामा पुग्यो यमन : राष्ट्रसंघ


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार ०६:५५

राष्ट्र संघले यमनलाई पतनको अवस्थाबाट मुक्त गर्न तत्काल सहयोग र प्रभावकारी कामको खाँचो रहेकोसमेत जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक स्टिफन ओ ब्रिएनले राष्ट्रसंघ सुरक्षा परिषद्सँग कुरा गर्दै यमनमा तत्काल प्रभावकारी काम नगर्ने हो भने पूर्ण पतन भएर जाने जानकारी दिएका हुन् ।

यमनमा मानवीय संकटको अवस्था भयावह बन्दै गएको र ७० लाख मानिस भोकमरीको चपेटामा रहेको राष्ट्र संघले जनाएको छ ।

राष्ट्र संघले यमनका नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको बताएको छ ।

हैजाको प्रकोप फैलिएको र त्यसका कारण ५ सय जना मानिसको ज्यान गएको तथा अर्को ६ महिनाभित्र यो संख्या बढेर १ लाख ५० हजार पुग्न सक्ने खतरा रहेको राष्ट्रसंघको भनाई छ ।

यमनलाई अहिलेको मानवीय संकटको अवस्थाबाट बाहिर ल्याउन २ अर्ब १० करोड अमेरिकी डलर सहयोगको आवश्यकता रहेकोमा २४ प्रतिशतमा मात्रै जुटेको छ ।

राष्ट्र संघले यमनको समस्या समाधानका लागि एकीकृत प्रयास गर्न विश्वका शक्ति राष्ट्र तथा समुदायसँग आग्रह गरेको छ । सन् २०१५ को मार्चमा यमनमा द्वन्द्व सुरु भएयता अहिलेसम्म ८ हजार भन्दा बढीको ज्यान गएको छ ।

यमनका अहिले १ करोड ८८ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्