कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ? « Image Khabar


कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार १६:४०

स्थानीय तहको मन्त्रिपरिषद मानिने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन सो गाउँ वा नगरको गाउँसभा र नगरसभाले गर्ने संवैधानिक प्रावधान छ । गाउँसभा र नगरसभालाई अर्काे शब्दमा निर्वाचकमन्डल पनि भनिन्छ ।

स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचकमन्डलमा सो गाउँ वा नगरभित्रका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाअध्यक्ष र सदस्य रहन्छन् ।

नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कार्यकारी पद हुन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँकार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् ।

त्यस्तै, सो गाउँपालिकाभित्रका वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् ।

निर्वाचकमन्डलले निर्वाचित महिला वडासदस्यबाट चारजना र सोही गाउँका दलित वा अल्पसंख्यक सर्वसाधारणबाट दुईजना निर्वाचित गरेपछि गाउँ कार्यपालिकाले पूर्णता पाउने निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अर्यालले बताए ।

त्यसैगरी, नगरपालिकाका प्रमुख र उपप्रमुख पनि पदेनरुपमा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख हुन्छन् ।

नगरभित्रका सबै वडाअध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ ।

सो नगरको निर्वाचकमन्डलले महिला वडासदस्यबाट पाँचजना र सोही नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट तीनजना निर्वाचित गरेपछि सो नगर कार्यपालिकाको निर्वाचन सम्पन्न हुन्छ ।

उदाहरणका लागि काठमाडौं महानगरपालिकाको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, ३२ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा अल्पसंख्यक सदस्य गरी जम्मा ४२ सदस्य हुन्छन् ।

नगरपालिका भन्नाले उपमहानगरपालिका र महानगरपालिका पनि बुझिन्छ ।

यसरी बन्छ गाउँसभा र नगरसभा
नेपालको संविधानअनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचन भइसकेपछि सो तहमा विधायिकाकोरुपमा रहने गाउँसभा र नगरसभाको गठन हुन्छ ।

गाउँसभामा सो गाउँपालिकाका निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्य र गाउँ कार्यपालिकामा रहेका दलित वा अल्पसंख्यक समुदायबाट निर्वा्चित दुईजना पनि सदस्यकारुपमा रहने सहप्रवक्ता अर्यालले बताए ।

त्यस्तै, नगरसभामा सो नगरपालिकाका निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, सदस्य र नगरकार्यपालिकामा दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित तीनजना सदस्य रहन्छन् ।

उदाहरणका लागि, काठमाडौं महानगरपालिकाको नगरसभामा प्रमुख, उपप्रमुख, ३२ वडा अध्यक्ष, ३२ ओटै वडाका जम्मा १२८ सदस्य र महानगरकार्यपालिकामा दलित र अल्पसंख्यक समुदायबाट निर्वाचित तीनजना सदस्य गरी जम्मा १६५ जना हुन्छन् ।

जिल्लासभा र जिल्ला समन्वय समितिको गठन प्रक्रिया
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि सो जिल्लाको जिल्लासभा र जिल्ला समन्वय समिति गठन हुने निर्वाचन आयोगले जनाएको छ ।

जिल्लासभामा जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाका सबै अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख रहन्छन् ।

उदाहरणका लागि एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौं जिल्लाको जिल्लासभामा महानगरपालिका प्रमुख र उपप्रमुख तथा सबै नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा २२ जना रहन्छन् ।

जिल्लासभाले सो जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कानुनी प्रावधान छ । जिल्ला समन्वय समिति न्यूनतम ६ देखि बढीमा ९ सदस्य हुन्छ ।

जिल्ला समन्वय समितिमा एक प्रमुख, एक प्रमुख, तीन महिला सदस्य, दलित र अल्पसंख्यक समुदायबाट एक र अन्य तीन गरी बढीमा ९ सदस्य रहन्छन् ।

जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बन्ने अधिकार उक्त जिल्लाका सबै गाउँसभा र नगरसभाका सदस्यलाई हुन्छ भने मतदान गर्ने अधिकार जिल्ला सभाका सदस्यलाईमात्र हुन्छ ।

प्रतिक्रिया दिनुहोस्