६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


नमुना मतदानमै अलमलिए मतदाता, ४३ मध्ये ११ मत बदर


0
Shares

गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयमसेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो ।

जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ ।

४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

नमुना मतदानमा सहभागी ज्येष्ठ नागरिक मतपत्र लामो भएका कारण मतहाल्ने क्रममा अलमलमा परेका थिए ।

अलमलमा परेका सहभागीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, पर्यवेक्षक लगायतसँग जानकारी लिएपछि मात्र नमुना मतदानमा सहभागी भएका थिए ।

कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको पाइएको छ । गोप्य कोठामा गएर स्वस्तिक चिह्न मसीमा चोब्न नजानेर मत हालेको ठाउँमा स्वस्तिक चिह्न नदेखिँदा दोहो¥याएर छाप हाल्ने गरेको देखिएको छ ।

कतिपय मतदाता मतपत्र पट्याएर मतपेटिकामा खसाउने क्रममा समेत अलमलमा परेका थिए । नमुना मतदानमा देखिएको अलमलले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ ।

जिल्लामा गत वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख १२ गतेदेखि स्थगित गरेर पुनः जेठ ५ गतेदेखि सञ्चालन गरिएको छ ।

१७३ मतदान केन्द्र रहेको जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १७५ जना मतदाता शिक्षा स्वयम्सेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस