
संसारमा बिरलै हुने राजतन्त्रको समूल वंशनाशको घटना जसरी रहस्यको पर्दामा लुकेको छ, उसैगरी हत्या भएको मूलथलो नारायणहिटी परिसरको अवस्था त्योभन्दा दर्दनाक देखिन्छ ।
देशको राजधानी काठमाडौं । काठमाडौंको मुटु दरबारमार्ग । त्यसमा पनि सत्ता र शक्तिको मूल केन्द्र रहेकैबेला तात्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी मच्चाइएको हत्याकान्डपछि मुलुकको राजनीतिले नै क्रमशः कोल्टो फेर्दै गयो ।
वीरेन्द्रको वंशनाशपछि बचे–खुचेको राजतन्त्रात्मक व्यवस्था मुस्किलले पाँच वर्ष पनि धानिन सकेन । २०६२/०६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेसँगै धेरै प्रधानमन्त्रीले दरबार हत्याकान्डको निष्पक्ष छानबिन अघि बढाइने र तथ्य सार्वजनिक गरिने भाषण त ठोके तर सिन्को भाँचिएन ।
बरु, राजतन्त्रको अन्त्यसँगै राजाहरुको निवास रहेको नारायणहिटीलाई संग्रहालयकारुपमा विकास गर्ने र संरक्षित गर्ने योजना बनाइयो ।
तर, गणतन्त्र आएको दशक बढी हुँदा पनि दरबारबाट संग्रहालयमा पहिचान बदलेको यस स्थानको व्यवस्थित संरक्षण हुन सकेको छैन ।
७५४ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको यही क्षेत्र कुनैबेलाको शक्तिको केन्द्र र पुञ्ज मानिथ्यो । तर, वीरेन्द्रको वंशनाश हुँदै समयले राजतन्त्रको अन्त्य गराएपछि अहिले ‘भूत बंगला’मा परिणात हुन पुगेको छ ।
२०२० सालमा राजा महेन्द्रले नयाँ स्वरुपमा निर्माण थालेको यो दरबार २०२६ मा सम्पन्न भएको थियो । दरबारको मूल प्रवेशद्वारबाट प्रवेश गर्नेबित्तिकै देबे्र भागमा अवस्थित यही त्रिभुवन सदन हत्याकान्डको मुख्य थलो थियो ।
जहाँ राजा वीरेन्द्रसहित राजपरिवारका १० सदस्यको एकै थलोमा सुनियोजित गोली प्रहारले ज्यान लिइएको थियो । हत्याकान्डलगत्तै राजा ज्ञानेन्द्रको आदेशमा गठित प्रधानन्यायाधीश र सभामुखको रहेको समितिले एउटा प्रतिवेदन त दियो तर त्यो आममानिसले पत्याउन सकेनन् ।
त्यसपछि सत्ता केन्द्रमा पुगेका अनेकन सरकारले छानबिनको आश्वासन त दिए तर कसैले ठोस काम थालेनन् ।
हत्याकान्डपछि पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको यस सदनको भने पुनःनिर्माण भइरहेको छ तर एक दशकभन्दा बढी समयसम्म एउटा भवनले पूर्णता नपाउनु अर्को आश्चर्य बनेको छ । यद्यपि, हलको स्वरुप र रङ हत्याकान्ड पूर्ववत बनाइँदैछ ।
जब–जब अवलोकनका लागि यस स्थानमा पुगिन्छ, दरबार हत्याकान्डका साक्षी बनेर रहेका गोलीका दागहरु देखिन्छन्, हरेकको मन चसक्क पोल्छ । मन कुटुक्क काट्छ । आँखा रसाउँछ । वीरेन्द्रका त्यही शालीन मुस्कान आँखैअगाडि घरिघरि नाच्न आउँछन् ।
तर, हत्याकान्डमा मारिएकाले न्याय नपाउनेमात्र होइन, सत्यसम्म खोतल्ने आँट नगर्ने हामीहरुले दूर्दान्त इतिहासबारे भावी पुस्तालाई जीवित साक्षीकारुपमा देखाउनसक्ने थलोसम्म संरक्षण गर्ने क्षमता नदेखाउनु चाहिँ आफैमा लज्जाबोध हुने विषय हो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्