
निर्वाचन आयोगको शनिबार बसेको बैठकले सो वडाको मतदान रद्द गर्दै पुनः मतदान गराउने निर्णय गरेको हो ।
‘प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन–२०७३ को दफा ५० को उपदफा (१) को खन्ड (ख) बमोजिम मतगणनास्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर–१९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने’–आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ’–‘सोही ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।’
सो वडाको मतगणना अन्तिम चरणमा पुगिसकेकोबेला गत आइतबार राति नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो ।
नेकपा एमालेले मतगणना अघि बढाउन माग गर्दै आएको छ भने सत्ताधारी दलहरु नेपाली कांग्रेस र माओवादीले पुनः निर्वाचनको माग गर्दै आएका थिए ।
पहिलो चरणको निर्वाचन पर्यवेक्षण गरेका विभिन्न संघ–संस्थाहरुले भने मतगणनास्थल कब्जा नभएकाले मतगणना अघि बढाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्