७ असार २०८२, शनिबार | Sat Jun 21 2025


भरतपुरको राजनीतिमा नयाँ तरंग, पुनः मतदान गर्न तयार भए मतदाता(भिडियो)


0
Shares

-राजु चौधरी/ईमेज

काँग्रेस-माओवादी केन्द्रको गठबन्धन निर्वाचनको तयारीमा लागेका छन् भने नेकपा एमाले सर्वोच्च अदालतको आदेशको प्रतीक्षा गर्दै जनचेतना अभियानमा लागेको छ ।

निर्वाचन आयोगको निर्णयप्रति नेकपा एमालेले बिरोध जनाइरहेको छ नेपाली काँग्रेस र माओवाद केन्द्रको गठबन्धनले स्वागत गरेका छन् ।

निर्वाचन आयोगको निर्णयलाई लिएर दलहरु विवाद गरिरहंदा भरतपुर १९ का मतदाता भने पुनः निर्वाचन भए मतदानका लागि तयार रहेको देखिएका छन् ।

मतपत्र च्यातेर माओवादीले गल्ती गरेको भएपनि पुनः निर्वाचन भए त्यसका लागि तयार रहेको उनीहरुको भनाइ छ ।

कांग्रेस र माओवादीको गठबन्धनले बैठकबाटै मेयरमा माओवादीकी उम्मेद्वार रेणु दाहाल र वडाध्यक्षसहित अन्य पदमा काँग्रेसलाई सघाउने निर्णय गरेको चितवन काँग्रेस सभापति जितनारायण श्रेष्ठले बताए ।

नेकपा एमाले भने निर्वाचन आयोगको निर्णयको विरुद्ध आन्दोलित रहेको छ जसलाई नयाँ शक्ति र राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले समर्थन गरेका छन् ।

१९ नम्बर वडाका एमालेका वडाध्यक्षका उम्मेदवार गुञ्जबहादुर विकसहितले आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रीट समेत दायर गरिसकेका छन् ।

सर्वोच्चको आदेशको प्रतिक्षा गर्दै एमालेले भरतपुर १९ मा जनचेतना अभियान पन सुरु गरेको एमाले चितवनका उपाध्यक्ष तेजेबन्द्रबहादुर खड्काले बताएका छन् ।

जेठ १४ गते मध्यरातमा भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना चलिरहँदा माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो ।

उक्त वडामा ३७ सय ९७ मतदाता रहेकोमा वैशाख ३१ को निर्वाचनमा २८ सय ९७ मत खसेको थियो ।

१८ सय ९ मत गणना भईसक्दासम्म एमाले उम्मेदवार देवी ज्ञवाली ७ सय बढी मतले अगाडि रहेका थिए ।