
प्रतीकात्मक तस्वीर
गस्तीमा रहेको प्रहरी टोलीले आइतबार राति ८ः३० बजे पुलमुनि राखिएको अवस्थामा जीवित बालिका फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
बानियाभार गाउँ जाने सडकखण्डअन्तर्गत झोलुङ्गे पुलमुनि अलपत्र अवस्थामा फेला पारिएकी शिशुलाई प्रहरीले तत्काल स्थानीय स्वयम्सेविकामार्फत जिल्ला अस्पताल बर्दियामा पुर्याइएको उनले बताए । कसले किन बच्चालाई पुलमुनि राखेको भन्ने बारेमा कुनै जानकारी नआए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको गालामा घाँसलगायत बालुवाले कोतरे पनि स्वस्थ रहेको जिल्ला अस्पताल बर्दियाकी लैगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी मनोविमर्शकर्ता (स्टाफनर्स) एलिना खड्काले बताइन् ।
आमा सुरक्षा कार्यक्रमको कपडासहित शिशु भेटिएकाले बालिका अस्पतालमै जन्मिएको हुनसक्ने उनको भनाइ छ । बच्चाको प्रकृति हेर्दा जन्मेकै दिन फालिएको हुनसक्छ ।
उनले थपिन्, ‘नाभी झरेको छैन ।’ बालिकालाई अस्पतालले बोतलमार्फत दूधपान गराई रहेको छ । बच्चाको स्वास्थ्य अवस्था खतरा बाहिर रहेको चिकित्सकले जनाएका छन् ।
शिशु स्वस्थ रहेकाले यदी कसैले पाल्ने भए प्रक्रिया पुराएर लैजान सक्ने महिला तथा बालबालिका कार्यालय बर्दियाकी महिला विकास अधिकृत गीराकुमारी बस्नेतले बताइन् ।
उनले भनिन्, ‘कसैले बच्चाबच्ची पाल्ने मनसाय बनाएका हुन्छन्, यदि कतै त्यस्तो कोही छ भने स्वस्थ बच्चा भएकाले कानुन सम्मतरुपमा लगेर पाल्न सक्नुहुन्छ ।’
बेवारिसे बालबालिकालाई सुरक्षित पालनपोषण गर्ने गृह बर्दियामा नभएकाले समस्या रहेको अधिकृत बस्नेतको भनाइ छ । बालिकाको जीवन रक्षाका लागि भएपनि कसैले लगेर सन्तानका रुपमा पालनपोषण गरे ठूलो धर्म हुने उनले बताइन् । (रासस)
प्रतिक्रिया दिनुहोस्