
आतंकवादलाई प्रश्रय दिएको, क्षेत्रीय तथा आपसी मतदभेद बढाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै कतारविरुद्ध छेडिएको कूटनीतिक लडाइँले विश्व राजनीतिमा प्रभाव पार्ने आंकलन सुरु भइसकेको छ ।
कतारको आधिकारिक समाचार संस्थाको कम्प्युटरमा अनधिकृतरुपमा ‘ह्याकिङ’ गरिएपछि खाडी क्षेत्रमा तनाब बढ्दै जाँदा साउदी अरब, युएई, बहराइन, लिबिया, इजिप्ट, यमनले ऊसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा सार्वजनिक भएको हो ।
२७ लाखमात्रै जनसंख्या भएको भौगोलिक हिसाबले सानो मुलुक कतार आकारलेभन्दा क्षमताले आफूलाई उँचो सावित गर्दै अगाडि बढिरहेको मुलुक हो ।
केही वर्षअघिसम्म खाडीको गरिब मुलुक मानिने कतारले छोटो समयमा गरेको प्रगतिमार्फत् ऊ विश्व रंगमन्चलाई प्रभावित गर्नेस्तरमा पुगिसकेको छ । कूटनीतिक सक्रियता पनि उसको तीव्र छ ।
कतार विमान सेवा, विश्व सन्चार जगतमा अल जजिरा समाचार संस्थाले पारेको प्रभाव, बहुराष्ट्रिय कम्पनीहरुको आकर्षण, सन् २०२२ को विश्वकप आयोजनास्थल, तेस्रो मुलुकको श्रम बजारको गन्तव्यलगायतले कतारको आर्थिक अवस्थालाई स्पस्ट पारेको छ ।
खाडी मुलुकसँगको कटुतापूर्ण सम्बन्ध सतहमा आएपछि भने कतार कता जाला ? भन्ने अन्योल बढेको छ ।
कूटनीतिक सम्बन्ध तोड्ने मुलुकको ठूलो हवाई क्षेत्र प्रयोग गर्न नपाउने भएपछि कतारले मार्ग बदल्नुपर्नेछ । त्यसले इन्धनको खर्च पनि बढ्नेछ ।
विशेष गरी क्षेत्रीय शक्ति साउदी अरबसँगको बिग्र्रँदो सम्बन्ध र इरानप्रतिको नरम नीति पनि पछिल्लो कतार प्रकरणको कारण मानिन्छ । खाडी मुलुकमा विकसित कूटनीतिक सम्बन्धविच्छेदले साउदी अरेबिया, युएई र बहराइनका नागरिकहरु कतार जान पाउने छैनन् ।
इजिप्टका करिब १ लाख ८० हजार मानिस कतारमा इन्जिनियरिङ, स्वास्थ्य र कानुन क्षेत्रका साथै निर्माण क्षेत्रमा संलग्न छन् । पछिल्लो घटनासँगै विभिन्न व्यापार सम्झौताहरु धराशायी हुने अनुमान सुरु भएको छ ।
साउदी अरेबियाले कतारसँगको सीमानाका बन्द गर्ने घोषणा गरेपछि त्यहाँबाट आउने ४० प्रतिशत खाद्यान्नका लागिसमेत कतारले समुद्री र हवाईमार्गमा भर पर्नुपर्नेछ । निर्माणकार्यका लागि साउदीबाट आउने सामग्रीहरु ठप्प हुने स्थिति देखिँदैछ । यसबाट महँगी बढ्नेछ ।
खाडी क्षेत्रमा कतार अहिले एक्लोजस्तो बन्दै गएको छ । पश्चिमा मुलुकहरुसँग पनि उसको सम्बन्ध सुमधुर छैन । कतारमा आफ्ना नागरिकभन्दा चार गुणा बढी अरु मुलुकका नागरिक रहेका छन् ।
नेपालको श्रम बजारको गन्तव्य बनेको कतारमा करिब ४ लाखको हाराहारीमा नेपाली रहेको अनुमान गरिन्छ ।
कतारसँग अमेरिकी सम्बन्ध भने अहिले पनि राम्रो मानिन्छ । अमेरिकाले कतारमा आफ्नो ठूलो सैन्य वेस राखेको छ । साउदी अरबसँग पनि अमेरिकाको सम्बन्ध पनि सुमधुर छ । त्यसैले खाडीमा देखापरेको यो तनावले कस्तो रुप लिन सक्छ भन्ने कुरा अमेरिकी रबैयामा पनि निर्भर गर्ने छ ।
भारत र चीनजस्ता एसियाली ठूला मुलुकहरुले पनि धारणा स्पस्ट पारेका छैनन् ।
अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामहरु अब कतारको पक्षमा कसरी विकसित हुन्छन्, त्यसले नै खाडी मुलुकको राजनीतिक र आर्थिक अवस्था स्पस्ट पार्नेछ ।
प्रतिक्रिया दिनुहोस्